अहिलेको सरकारलाई पनि अरुलाई भन्दा ‘नेपोबेबी’ कै संकेत

‘नेपो बेबी’ को चर्को विरोध गर्दै सत्तामा पुगेकाहरूले नियुक्तिमा आफन्त र नातागोता च्याप्ने सिलसिला रोकिएन ।

जेन-जी आन्दोलनताका नवयुवाहरूले राज्यका निकायमा दलका आसेपासे नियुक्तिको विरोध गर्नुका साथै नेता र उच्चपदस्थ कर्मचारीका सन्तानको विलासी जीवनशैलीलाई उदांगो पार्ने उद्देश्यले ‘नेपो बेबी’ ट्रेण्ड नै चलाए ।

तर, नयाँहरूले समेत नियुक्तिमा ‘पुरानै पारा’ देखाउन थालेको भेटिएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनका दाजु, दिदीदेखि सालोहरूले समेत महत्वपूर्ण नियुक्ति हात पारिरहेको भेटिएको छ । अहिलेको सरकारले एकाघरका तीन जनालाई महत्वपूर्ण नियुक्ति दिएकोे भेटिएको छ ।

बेनका दाजु सिद्धि खेलकुद मन्त्रालयको प्रमुख सल्लाहकार छन् । गत चैत १९ गते ५५ वर्षीय सिद्धि व्यञ्जनकारले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उक्त नियुक्ति लिएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालय मातहत निरीक्षण,निर्देशनदेखि खेलकुुदका बजेट विनियोजन र खेलाडी बिदाईसम्मका काममा सिद्धिको सक्रियता बढ्दो छ । खेलकुद क्षेत्रको अग्रणी संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्ने, पदाधिकारीलाई निलम्बन गर्नेदेखि नेतृत्व कब्जा गर्ने काममा समेत सिद्धिको सक्रियता देखिएको जानकारहरू बताउँछन् ।

दाजु मात्र होइन, दिदीले समेत नियुक्ति पाएकी छन् । १८ असारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) बाट नेपाल पञ्चांग निर्णायक विकास समितिको सदस्यमा नियुक्त भइन्, ललितपुर महानगरपालिका–१० की ५२ वर्षीया सिद्धिलक्ष्मी व्यञ्जनकार ।

कुमार, सिद्धि, सिद्धिलक्ष्मी तीनै जना ललितपुर–१० का पूर्ववडाध्यक्ष नरसिंह र नानीछोरी व्यञ्जनकारका सन्तान हुन् । नरसिंह प्रधानमन्त्री बालेनका राजनीतिक गुरु ।

यस अलावा पूर्वाधार मन्त्री सुनिल लम्सालको प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत विवेक बाँस्तोला प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनका दाजु सिद्धिको सालो रहेको खुलेको छ ।

काठमाडौं महानगरपालिकामा कार्यरत थिए । सुनिल पूर्वाधार मन्त्री बनेसँगै प्रधानमन्त्री बालेन साहको सोल्टी विवेकलाई पूर्वाधार मन्त्रीको सचिवालयमा व्यवस्थापन गरिएको छ । अहिले पूर्वाधार मन्त्रीको प्रमुख सल्लाहकारमा चार जना कार्यरत छन् ।

सन्तोष पाण्डेय, सञ्जीवकुमार राना, धर्मेन्द्रकुमार झा र सुशील ज्ञवाली, प्रमुख स्वकीय सचिव विवेक बाँस्तोला, स्वकीय सचिव निर्मल ज्ञवाली, समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत पारस क्षेत्री र सञ्चार तथा जनसम्पर्क सहायक नीरज भट्टराई ऊर्जाबाट खोसेर सिँचाई विभागलाई पूर्वाधारतिर सार्ने प्रक्रियासमेत यिनै सल्लाहकार र स्वकीयको जोडबलमा अगाडि बढेको बताइन्छ ।

यसबीच सडक विभागको महानिर्देशक बन्न ललिजन खनाल एक जना भूपू महिला माननीयको साथ लागेर साताको तीन– चार पटक सिद्धि व्यञ्जनकारलाई भेट्न ज्वागलतिर धाउने गरेको भौतिक मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू बताउँछन् ।

 

 

 

 

 

जनआस्थाबाट साभार