सडक भासिएर बेपत्ता भएको गाडी अझै लागेन पत्ता

हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ माछापोखरीमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार र आइतबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा गाडी पत्ता लगाउन भासिएको खाल्डोको पानी सुकाएर खोजी गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिनुभयो ।
पानी सुकाउने क्रममा खाल्डो वरपरको माटो खसेर पुरिँदै गएकाले खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ। खाल्डोको छेउछाउमा जान सक्ने अवस्थासमेत नरहेको र बाँस डुबाउँदा पनि गाडीको कुनै भाग फेला नपरेको जनाइएको छ ।

शुक्रबार दिउँसो गैरीगाउँको कच्ची सडकमा घाँस काट्ने मेसिन लिएर गइरहेका स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएर पानी जमेको खाल्डोमा डुबेको थियो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडी भासिएको करिब ५ सेकेन्डमै पानीमा पुरै डुबेको थियो। गाडी डुबेको ठाउँ नजिकै माछापालनका लागि खनिएको बोरिङ पनि भासिएकाले सोही कारण जमिन भासिन पुगेको अनुमान गरिएको छ। गाडीका चालक र सहचालक भने भागेर ज्यान जोगाउन सफल भएका थिए।

प्रहरीले स्थानीयको सहयोगमा शनिबार र आइतबार पनि बेपत्ता गाडीको खोजी कार्य गरे पनि पत्ता लागेको छैन ।
तसर्थ जमिनमुनि हराएको गाडीको बिषयमा अध्ययन गर्न भूगर्भविद् ल्याइने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ।