नेपाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन् ।
नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिलाउन औपचारिक पहल गरिएको हो ।
काठमाडौंमा जारी दुई दिने अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को महासभाको उद्घाटन सत्रमा नेपालले विश्व पर्वतारोहण समुदायसमक्ष आफ्नो दाबी प्रस्तुत गरेको हो ।
नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले ती ६ वटा हिमालको विवरण र तिनलाई छुट्टाछुट्टै ८ हजार मिटर अग्ला हिमालका रूपमा मान्यता दिनुपर्ने आधारसहितको अध्ययन प्रतिवेदन महासभामा प्रस्तुत गरेका थिए।
शेर्पाका अनुसार यालुङ काङको ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्यको ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर छ ।
एनएमएले ती हिमालको पहिचान र उचाइ मापन गर्न अध्ययन टोली गठन गरेको थियो । टोलीले ती हिमालको भौगोलिक पहिचान, छुट्टाछुट्टै चुचुरा र अलग–अलग आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
यी ६ वटै हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालमा मान्यताप्राप्त ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ पुग्नेछ । त्यस्तै, विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ ।
महासभाको उद्घाटन समारोहलाई सम्बोधन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आठ हजार मिटर माथिका विश्वका २० मध्ये १४ वटा हिमाल नेपालमा मात्रै छन भनेर पहिचान बनाउनु आफैंमा एउटा शानदार उपलब्धी हुने बताएका छन् ।
यसले नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने मन्त्री पौडेलको भनाइ छ ।
‘नेपालको प्रस्ताव केवल हिमालको संख्या थप्ने विषय मात्र होइन,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘यो हाम्रो हिमाली भूगोल, प्राकृतिक सम्पदा र पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष तथ्य, अध्ययन र वैज्ञानिक आधारसहित स्थापित गर्ने प्रयास पनि हो ।’
महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन् । यसअघि नेपालमा सन् १९८२ र २०११ मा महासभा सम्पन्न भएका थिए ।
