नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ को भव्य प्रिमियर सम्पन्न

काठमाडौं । यार्सागुम्बा (यार्चा) संकलनमा संलग्न हिमाली समुदायको जीवनशैली, संघर्ष, संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘हिमालयन गोल्ड’ को भव्य प्रिमियर शो सम्पन्न भएको छ।

चलचित्रले यार्सागुम्बा संकलनका क्रममा स्थानीय समुदायले भोग्ने चुनौती, हिमाली जनजीवन र नेपालको अनुपम प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। साथै, नेपालको पर्यटन सम्भावना र मौलिक संस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने प्रयास गरेको छ।

कथा प्रस्तुति, छायांकन, सिनेमाटोग्राफी र समग्र निर्माण पक्षका कारण चलचित्रले प्रशंसा बटुलिरहेको छ। चलचित्रमा स्वर्गीय कलाकार सुनील थापाको अभिनयसमेत रहेको छ। प्रिमियरका क्रममा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।

विभिन्न देशमा एकैसाथ प्रिमियर गरिएको ‘हिमालयन गोल्ड’ ले नेपालसँगै विदेशमा पनि चर्चा पाएको छ। आज आयोजित प्रिमियर शोमा देश तथा विदेशका विशिष्ट व्यक्तित्व, चलचित्रकर्मी र विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चलचित्रको सफलताप्रति धिरज र सुयश ज्ञवालीसहित सम्पूर्ण निर्माण टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। विशेषगरी सुयश ज्ञवालीका परिवारले यस उपलब्धिप्रति गर्व व्यक्त गर्दै चलचित्रले नेपालको पहिचान, संस्कृति र हिमाली समुदायको कथालाई विश्वसामु पुर्‍याउन गरेको प्रयासको प्रशंसा गरेका छन्।

‘हिमालयन गोल्ड’ मनोरञ्जनसँगै नेपालको हिमाली जीवन, संस्कृति र प्राकृतिक सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।