नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक रहेका पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकको सम्मानमा काठमाडौंमा रात्रिभोज आयोजना गरेका छन् ।
आइतबार साँझ आयोजित उक्त कार्यक्रममा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवाली पनि सहभागी थिइन् । कार्यक्रममा नेपाल र पाकिस्तानबीचको मित्रता तथा आपसी सम्बन्ध सुदृढ बनाउन क्रिकेट र खेलकुदको भूमिकाबारे चर्चा भएको थियो ।
कार्यक्रमका क्रममा अध्यक्ष ज्ञवालीले नेपाली युवामाझ क्रिकेटप्रति बढ्दो आकर्षण र उत्साहलाई कसरी व्यावसायिक खेलमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा मिसबाहसँग जिज्ञासा राखेकी थिइन् । उनले नेपाली क्रिकेट खेलाडीको शारीरिक क्षमता, खेलकौशल, प्रशिक्षणको उपयुक्त उमेर तथा प्रतिभा पहिचानका लागि विद्यालय तहदेखि नै कस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ भन्नेबारे प्रश्न गरेकी थिइन् ।
जवाफमा मिसबाहले नेपाली युवा क्रिकेटप्रति निकै उत्साहित र आकर्षित रहेको उल्लेख गर्दै उनीहरूको क्षमता विकासका लागि शारीरिक तन्दुरुस्ती र प्राविधिक खेलकौशल दुवै पक्षमा ध्यान दिनुपर्ने बताएका थिए । उनले विद्यालय तहदेखि नै क्रिकेट प्रशिक्षण सुरु गर्ने, प्रतिभा पहिचान गर्ने र व्यवस्थित अभ्यास तथा प्रशिक्षणको अवसर उपलब्ध गराउने हो भने नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखेका थिए ।
पाकिस्तानका सफल पूर्वकप्तानमध्ये एक मानिने मिसबाहले आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीलाई महत्त्वपूर्ण सफलता दिलाएका थिए । उनको कप्तानीमा पाकिस्तानले सन् २०१२ को एसिया कप जितेको थियो । बंगलादेशमा भएको फाइनलमा पाकिस्तानले आयोजक टोलीलाई दुई रनले पराजित गरेको थियो । यो पाकिस्तानको दोस्रो एसिया कप उपाधि थियो ।
त्यस्तै, सन् २०१६ को अगस्टमा पाकिस्तान पहिलो पटक आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको थियो । सन् १९८८ मा वरीयता प्रणाली सुरु भएयता पाकिस्तानले टेस्ट क्रिकेटमा पहिलो पटक शीर्ष स्थान हासिल गरेको यो ऐतिहासिक उपलब्धि थियो । त्यसबेला मिसबाह पाकिस्तानका टेस्ट कप्तान थिए ।
मिसबाहले टेस्ट क्रिकेटमा १० शतक र ३९ अर्धशतक बनाएका छन् भने एकदिवसीय क्रिकेटमा ४२ अर्धशतक प्रहार गरेका छन् । उनले सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यसपछि सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले मिसबाहलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनको अनुभव र प्रशिक्षण क्षमताले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा क्रिकेटलाई केवल प्रतिस्पर्धात्मक खेलका रूपमा मात्र नभई युवा प्रतिभा विकास, आपसी सद्भाव र दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने माध्यमका रूपमा समेत अघि बढाउन सकिने विषयमा छलफल भएको थियो ।
