आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २१ यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र महासभाले सन् १९९६ डिसेम्बर १७ मा पारित गरेको प्रस्ताव ५१/२०५ मार्फत नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवस का रूपमा घोषणा गरेको हो।
सन् १९९६ नोभेम्बर २१ र २२ तारिखमा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन मञ्च (World Television Forum) को आयोजना गरेको थियो। उक्त मञ्चमा संयुक्त राष्ट्रसङ्घको संरक्षणमा सञ्चार क्षेत्रका प्रमुख व्यक्तित्वहरू भेला भई आजको परिवर्तनशील विश्वमा टेलिभिजनको बढ्दो महत्त्वबारे छलफल गरेका थिए। महासभाले नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गर्ने निर्णय गरेको हो।
टेलिभिजनलाई जनमत निर्माण गर्न, जनतासमक्ष सूचना प्रवाह गर्न तथा जनमतलाई प्रभावित पार्न सक्ने एक प्रमुख माध्यमका रूपमा स्वीकार गर्दै यो दिवस मनाउने निर्णय गरिएको थियो। अर्थात् टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै यो दिवस घोषणा गरिएको हो।
नेपाल टेलिभिजनको स्थापना : नेपाली समाजमा यसको महत्त्व
सन् १८८८ मा हेलन्सबर्गमा जन्मिएका जोन लोगी बेयर्डले १९२५ मा लन्डनमा टेलिभिजनको आविष्कार गरेका हुन्।तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरू छन्, त्यस बेलाका कथाहरू, जुन बेला सिङ्गो गाउँमा एउटा या दुईवटामात्र टिभीका बाकसहरू हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुन्डिएका आल्मुनियम पाइपबाट बनेका यागी (YAGI) एन्टिना। आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसङ्गहरू कोट्याउन जरुरी लाग्दैछ।
मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र थियो । सानो आकारको पर्दामा रंगीन दृश्यहरू देखिने भएकाले बाल्यकालमा टेलिभिजनप्रति छुट्टै आकर्षण थियो । तर समयसँगै बुझ्दै गएँ, टेलिभिजन एउटा मनोरञ्जन दिने साधन मात्र होइन रहेछ ।
यसले मानिसको ध्यान केन्द्रित गराउने, संसारका घटनाक्रमसँग परिचित गराउने र टाढाको विश्वलाई आफ्नै अगाडि ल्याइदिने शक्तिशाली माध्यम रहेछ । एउटा सानो पर्दाभित्र संसारका अनेक घटना, संस्कृति, जीवनशैली, सङ्घर्ष र सम्भावनाहरू समेटिएका हुन्छन् ।
टेलिभिजनले सूचना र समाचारलाई दृश्य तथा आवाजसहित मानिससम्म पु¥याउँछ । कुनै घटना कहाँ र कसरी भइरहेको छ भन्ने कुरा शब्दबाट मात्र नभई प्रत्यक्ष दृश्यबाट बुझ्न सकिने भएकाले यसको प्रभाव अन्य सञ्चार माध्यमभन्दा फरक र प्रभावकारी हुन्छ । राजनीतिक गतिविधि, प्राकृतिक विपद्, सामाजिक परिवर्तन, खेलकुद, विज्ञान तथा प्रविधिका उपलब्धिलगायतका विषयले टेलिभिजनमार्फत आम मानिसलाई जानकारी र सचेत बनाउँछन् ।
विशेष गरी संकट, दुर्घटना वा विपद्का समयमा टेलिभिजनले तत्काल सूचना प्रवाह गरी नागरिकलाई सतर्क बनाउने र आवश्यक निर्णय लिन सहयोग गर्ने भूमिका खेल्छ ।
नेपालमा टेलिभिजनको महत्त्व सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक चेतना अभिवृद्धिमा अझ महत्त्वपूर्ण छ । भौगोलिक विकटता, भाषिक विविधता र सामाजिक संरचनाका कारण सबै नागरिकसम्म सूचना पु¥याउन चुनौती रहेको अवस्थामा टेलिभिजनले देशका विभिन्न क्षेत्र, समुदाय र वर्गलाई एउटै सूचनाको साझा माध्यममा जोड्ने काम गरेको छ ।
कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, संस्कृति, भाषा र स्थानीय मुद्दाबारे प्रसारित कार्यक्रमले ज्ञान विस्तार गर्नुका साथै समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्छन् । टेलिभिजनमा देखिने समाचार र बहसले नागरिकलाई सार्वजनिक विषयमा धारणा बनाउन, राज्यका गतिविधि बुझ्न र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनसमेत सहयोग पु-याउँछन् ।
दर्शकले आफूले चाहेको कार्यक्रम जुनसुकै समय र स्थानमा हेर्न सक्ने अवस्था बनेको छ । यसले टेलिभिजनको पहुँच र प्रभावलाई अझ विस्तार गरेको छ । यद्यपि गलत सूचना, भ्रामक दृश्य, सनसनीपूर्ण सामग्री र दर्शकको समय अनावश्यक रूपमा खर्च हुने चुनौती पनि बढेका छन् ।
त्यसैले सत्य, तथ्यमा आधारित, जिम्मेवार र गुणस्तरीय सामग्री उत्पादन तथा प्रसारण गर्नु आजको टेलिभिजनको प्रमुख आवश्यकता हो ।
हरेक वर्ष नोभेम्बर २१ मा मनाइने विश्व टेलिभिजन दिवस टेलिभिजनको भूमिका, प्रभाव र महत्वबारे स्मरण गर्ने अवसर हो । आज टेलिभिजन घरको एउटा कुनामा राखिएको मनोरञ्जनको उपकरण होइन, समाजको ऐना, जनताको आवाज र विश्वलाई जोड्ने माध्यम बनेको छ ।
बदलिँदो प्रविधि र सञ्चारको प्रतिस्पर्धाबिच पनि विश्वसनीयता, निष्पक्षता, सामाजिक उत्तरदायित्व र जनहितलाई केन्द्रमा राख्न सके टेलिभिजनको सान्दर्भिकता अझै कायम रहनेछ । सानो पर्दाले ठुलो संसार देखाउने यसको शक्ति नै टेलिभिजनको वास्तविक महत्त्व हो ।