जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज बिहान ११ बजे सपथ ग्रहण गर्ने भएका छन् ।
मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायण दाहालले आइतबार बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय परिसरमै सपथ ग्रहण कार्यक्रम राखिएको जानकारी दिए । उनले अहिलेसम्म मुख्यमन्त्री यादवले मात्र सपथ लिने बताए । उनका अनुसार मुख्यमन्त्री यादवले आन्तरिक छलफल गर्दै छन् र भोली विहान ११ बजे भन्दा पहिलेसम्म टुंगो लागेमा सानो मन्त्रिपरिषद विस्तार हुने सम्भावना पनि रहेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज (शुक्रबार) संविधानको धारा १६८ को ३ बमोजिम सबै भन्दा ठूलो दलको हिसाबले जनता समाजवादि पार्टी नेपालका संसदिय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । यस अघि शुक्रबार ४ बजेसम्म रहेको दाबी पेशको अवधिमा कुनै पनि दलले दाबी पेश गरेको थिएन ।