नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्न साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १ सय ५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको हो।
कप्तान रोहितले ३० रनमाथिको तिन वटा साझेदारी गरेपछि लुम्बिनीले प्रतिस्पर्धात्मक रन बनाउन सफल भयो। कप्तान रोहितले दोस्रो विकेटका डार्सी सर्टसँग ३० रन, तेस्रो विकेटका लागि निरोशन डिवेल्लासँग ३९ र चौथो विकेटका लागि दिलिप नाथसँग ३४ रनको साझेदारी गरे।
कप्तान रोहित पौडेल ३१ बलमा २ चौका सहयोगमा ३० रन बनाउँदा रनआउट भए। निरोशन डिकवेल्लाले २८ रन बनाउँदा थरुन्दे रत्नायकेको बलमा बोल्डआउट भए।
ओपनर डार्सी सर्ट १८ बलमा ४ चौका सहयोगमा २१ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिको बलमा बोल्डआउट भए। सन्दीप जोराले ४ र आशिफ शेखले १ रन बनाउँदै पेभेलियन फर्के।
छैटौँ विकेटका लागि दिलिप नाथ र अली शेखले ३३ रनको अविजित साझेदारी गरे। १२ बलमा २ चौका र २ छक्का सहयोगमा २४ रन बनाएका अली शेख हेमन्त धामीको बलमा क्याच आउट भए।
दिलिप नाथ ३९ र रुवेन ट्रम्पलमेन ४ रनमा अविजित रहे। दिलिप नाथले ३१ बलमा ३ छक्का हाने।
सुदूरपश्चिमका लागि स्कट कुल्गेजिनले २ विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरिले समान १ विकेट आफ्नो नाममा गरे।
लगातार तेस्रो सिजन फाइनल खेलिरहेको सुदूरपश्चिमले पहिलो पटक उपाधि जित्न केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

