प्रधानमन्त्री बालेन्द्र शाह-बालेन नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शाहले आज शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।
उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।
सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।
यस्तै, विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदान हुने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

![]()
