प्रधानमन्त्रीद्धयद्धारा संयुक्त रूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह-बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलान्यास गरेका हुन् ।

सङ्खुवासभा र भोजपुर जिल्लाको सिमानामा बन्न लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्याससँगै औपचारिक निर्माण प्रक्रिया अघि बढेको छ ।

निर्माणपूर्वका अधिकांश तयारी चरण पूरा गरी आयोजना औपचारिक निर्माण कार्य सुरु गर्ने अन्तिम चरणमा पुगेको छ । भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत् निगम ९एसजेभीएन० को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले विकास गरिरहेको छ ।

भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको एसजेभीएनका उच्च अधिकारीहरूले नोभेम्बर २०२६ को सुरुमा आयोजनास्थलको स्थलगत निरीक्षण गरी औपचारिक निर्माण कार्य सुरु गर्ने तयारीको समीक्षासमेत गरिसकेका छन् ।

आयोजनाको संखुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेछ। आयोजनाका प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई उक्त रकम वितरण गरिएको हो ।

सो क्षेत्रमा पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्याङ्कन गरिएको छ। तल्लो अरुण आयोजना निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन्। आयोजनाले एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेछ। आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित बताइएको छ।

आयोजनाको हालसम्म भएको कार्य प्रगति र अवस्था
आयोजना निर्माणका लागि आवश्यक प्रशासनिक, कानुनी तथा ठेक्का प्रक्रियाहरू अघि बढेको छ । आयोजनाको प्याकेज–२ निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ छनोट भइसकेको छ । अन्य सिभिल तथा हाइड्रोमेकानिकल प्याकेजहरूको बोलपत्र प्रक्रिया पनि अघि बढाइएको छ ।

लगानी बोर्ड नेपालले केही वर्षअधिघ नै आयोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरिसकेको छ । त्यस्तै, सरकारले आयोजना निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र रुख कटान गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

आयोजनाका लागि आवश्यक कुल १८४ हेक्टर जग्गामध्ये निजी जग्गाको मुआब्जा निर्धारण र वितरण प्रक्रिया हाल सङ्खुवासभाको खाँदबारी नगरपालिकाका प्रभावित वडाहरूमा सञ्चालन भइरहेको छ ।

अरुण तेस्रोसँगको आबद्धता र प्राविधिक विशेषता
तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको क्यासके परियोजनाका रूपमा विकास गरिँदै छ ।

अरुण तेस्रोको विद्युतगृहभन्दा तल पर्ने यस आयोजनामा अरुण तेस्रोको टेलरेसबाट निस्कने पानीलाई सिधै सुरुङमा हालेर विद्युत् उत्पादन गरिनेछ । यसका लागि करिब १७।४ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ ।

अरुण तेस्रो अत्यधिक विद्युत्को माग हुने सुक्खा मौसममा पनि दैनिक ६ घण्टासम्म पानी जम्मा गरेर विद्युत् उत्पादन गर्न सक्ने अर्धजलाशययुक्त आयोजना भएकाले त्यसको टेलरेसबाट निस्कने पानी सिधै प्रयोग गर्न सकिने हुँदा तल्लो अरुण प्राविधिक र आर्थिक दुवै दृष्टिले आकर्षक मानिएको छ ।

विभिन्न अध्ययनहरूले भविष्यमा सप्तकोसी उच्च बाँध निर्माण भएमा तल्लो अरुणको विद्युत् गृह डुबानमा पर्न सक्ने औँल्याएका छन् ।

लागत, मोडल र नेपाललाई प्राप्त हुने लाभ
करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको तल्लो अरुण आयोजना निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण मोडलमा निर्माण हुने यस आयोजनाबाट नेपालले कुल उत्पादित बिजुलीको २१ प्रतिशत निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ ।

लगानी बोर्ड र भारतीय कम्पनीबिच भएको आयोजना विकास सम्झौता ९पीडीए० अनुसार व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि चालू हालतमा रहेको आयोजनाको पूर्ण स्वामित्व निःशुल्क रूपमा नेपाल सरकारमा हस्तान्तरण हुनेछ ।

अरुण तेस्रोको निर्माण भारतीय पक्षले नै गरिरहेकाले लागत, निर्माण सामग्रीको आयात तथा अन्य प्राविधिक तयारीका लागि सहज हुने भन्दै भारतले सुरुदेखि नै तल्लो अरुण पनि अरुण तेस्रोकै ढाँचामा निर्माण गर्ने प्रस्ताव राख्दै आएको थियो ।

विगतमा २०७५ माघ र २०७६ भदौमा भएका उच्चस्तरीय द्विपक्षीय भेटवार्ताहरूमा तत्कालीन भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग तल्लो अरुण पनि सतलजले नै बनाउँदा छिटो र सहज रूपमा सम्पन्न गर्न सकिने धारणा राखेका थिए ।

सोही अनुरूप प्रक्रिया अघि बढेर एसजेभीएनले निर्माणको जिम्मा पाएको यो आयोजना अब प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै औपचारिक निर्माणको निर्णायक चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।