स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष ज्ञवाली र कार्यवाहक प्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेपालमा उद्यमशीलताको विकास, युवा पलायन रोक्ने उपाय र स्वदेशमै व्यवसाय गर्ने वातावरण निर्माण गर्ने विषयमा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवाली र कार्यवाहक प्रधानमन्त्री बिराजभक्त श्रेष्ठबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको आर्थिक विकास, ऊर्जा तथा जलविद्युत्, स्टार्टअपको वर्तमान अवस्था, सहुलियतपूर्ण कर्जा, महिला उद्यमशीलता र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

भेटका क्रममा अध्यक्ष ज्ञवालीले उच्च शिक्षा हासिल गरेपछि अवसरको खोजीमा विदेशिने नेपाली युवाको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै युवाले आफ्नै देशमा भविष्य देख्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । सानो पुँजी, सीप र नवीन सोच भएका युवाले पनि नेपालमै व्यवसाय सुरु गर्न सक्ने अवस्था सिर्जना गर्नु आजको आवश्यकता भएको बताउँदै त्यसका लागि सरकारले सहुलियतपूर्ण कर्जा, प्रविधि, बजार पहुँच, लगानी र आवश्यक मार्गदर्शनमा विशेष ध्यान दिनुपर्ने पनी बताउनु भयो ।

नेपालका युवाहरू रोजगारी खोज्न मात्र विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै ज्ञवालीले महिला तथा युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रमलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । विश्व बजारमा स्टार्टअपले हासिल गरिरहेको प्रगति र नेपालको अवस्थाबारे चर्चा गर्दै उहाँले नेपालमा पनि सम्भावना प्रशस्त रहेकाले त्यसलाई अवसरमा बदल्न राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नु भएको छ ।

ज्ञवालीले ‘स्टार्टअप समिट नेपाल २०२६’ अभियानमार्फत सातै प्रदेशका केन्द्रदेखि स्थानीय तहसम्मका युवाहरू, महिला उद्यमी, विद्यार्थी, व्यवसायी, वित्तीय संस्था र सरकारी निकायलाई जोड्ने प्रयास भइरहेको जानकारी गराउनु भइको थियो । अभियानको सुरुवात त्रिभुवन विश्वविद्यालयबाट भइसकेको र विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागसँगको सहकार्यमा आयोजित कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी भएको भएको र कार्यक्रममा उपकुलपति प्राडा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमशीलताको सुरुवात, व्यवसाय सञ्चालनका सम्भावना र विभिन्न विश्वविद्यालयमा भइरहेका नमुना व्यवसायका अभ्यासबारे छलफल गरिएको थियो ।

त्यसैगरी काठमाडौंका विभिन्न विद्यालय तथा कलेजमा विद्यार्थीलाई उद्यमशीलताप्रति आकर्षित गर्ने कार्यक्रम र महिला उद्यमशीलताका अवसर, चुनौती तथा आगामी बाटोबारे अन्तरक्रिया पनि सम्पन्न भइसकेको र यसबाट २०० भन्दा बढीले सहभागिता जनाएको उनले जानकारी दिनुभयो ।

अभियानलाई प्रदेशस्तरमा विस्तार गर्ने क्रममा गत कात्तिक १८ गते गण्डकी प्रदेशको पोखरामा कार्यक्रम सम्पन्न भएको थियो। करिब ४०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा २२ वटा स्टल राखिएका थिए। स्टार्टअप कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मुख्य सचिव, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक, पोखरा महानगरपालिकाका प्रमुख, पाकिस्तानका राजदूत, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पोखरामा सम्पन्न कार्यक्रमले स्थानीयस्तरमै उद्यमशीलताको सम्भावना र नेपाली उत्पादनको बजार विस्तार गर्न सकिने सन्देश दिएको ज्ञवालीले बताउनु भयो ।

भेटमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले नेपालमा व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्नु भयो। व्यवसाय सञ्चालनका क्रममा अनावश्यक प्रशासनिक झन्झट, ढिलासुस्ती र विभिन्न बहानामा काम रोक्ने प्रवृत्तिलाई हटाउँदै सरकार व्यावसायिक वातावरण सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो । सरकारका विभिन्न निकायलाई चुस्तदुरुस्त बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कुनै निकायबाट व्यवसायीले अनावश्यक समस्या भोग्नुपरेमा जानकारी गराउनसमेत उनले आग्रह गर्नु भएको छ ।

नेपालमा व्यवसाय गर्न चाहने युवालाई निरुत्साहित होइन, प्रोत्साहित गर्नुपर्ने बताउँदै श्रेष्ठले देशको आर्थिक विकास, उद्यमशीलताको प्रवद्र्धन र नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि आफू आवश्यक सबै क्षेत्रमा अग्रसर रहने विश्वास दिलाउनु भयो । यस स्टार्टअप अभियानलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकाय तथा प्रतिनिधिहरूको सहभागिता र सहयोग जुटाउन पनि आफू सकारात्मक रहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा समेत नेपालमा लगानी, व्यापार, ऊर्जा तथा आर्थिक सहकार्यका विषयले प्राथमिकता पाएका छन्। भारतका उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गर्दै लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नीतिगत सुधारप्रति सरकार प्रतिबद्ध रहेको सन्देश दिइएको छ। यसले नेपालमा व्यावसायिक वातावरण सुधार र लगानी आकर्षित गर्ने सरकारको प्रयासलाई थप महत्व दिएको छ।

नेपालमै सम्भावना खोज्ने, आफ्नै सीप र सिर्जनशीलताबाट व्यवसाय स्थापना गर्ने तथा अरूलाई समेत रोजगारी दिने वातावरण निर्माण गर्नु नै स्टार्टअप समिट नेपाल २०२६ अभियानको मूल उद्देश्य रहेको छ। विदेशिने युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउँदै गाउँदेखि सहरसम्म उद्यमशीलताको चेतना विस्तार गर्ने अभियानले सातै प्रदेशमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष ज्ञवालीले बताउनु भएको छ ।