रोटरी क्लब अफ कपनको ‘डीजी भिजिट’ कार्यक्रम सम्पन्न

  • Clock icon
    २०८३ मंसिर ११, शुक्रबार

काठमाडौँ, रोटरी क्लब अफ कपनको आयोजनामा डिस्ट्रिक्ट गभर्नर (डीजी) विष्णु बहादुर कार्कीको औपचारिक ‘डीजी भिजिट’ कार्यक्रम बिहीबार स्वयम्भूस्थित क्वालिटी दरबारमा भव्यताका साथ सम्पन्न भएको छ।

क्लबका अध्यक्ष मञ्जु श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथि डीजी कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीजी कार्कीले रोटरीले समुदायमा ल्याएका परिवर्तनहरूको प्रशंसा गर्दै थप प्रभावकारी योजनाका साथ अघि बढ्न सुझाव दिनुभयो।
कार्यक्रममा इमिडेट पास्ट प्रेसिडेन्ट प्रल्हाद दाहालले स्वागत मन्तव्य राख्दै डीजी कार्कीको व्यक्तित्वको परिचय गराउनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा रोटरीको मूल्य मान्यतालाई आत्मसात गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सक्ने बताउनुभयो।

त्यस्तै मानार्थ सदस्य प्रा. डा. बुलन्द थापाले स्वास्थ्य र चेतना अभिवृद्धिमा रोटरीको भूमिकाको चर्चा गर्दै सहकार्यको महत्त्वमा जोड दिनुभयो। ग्रान्ट तथा प्रोजेक्ट चेयर निशा अधिकारी थापाले पाँचवटै चेयरहरूको प्रगति प्रतिवेदन पेश गर्दै आगामी योजनाहरू प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमका वक्ता रोटरी डिस्ट्रिक्ट सचिव गौतम श्रेष्ठले संगठनको नीति र लक्ष्यअनुरूप क्लबको कार्यसम्पादन उत्कृष्ट रहेको बताउनुभयो।

कार्यक्रममा क्लबका जिएआर मनोज कुमार कंडेल, चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, मेजर डोनर एवं प्रेसिडेन्ट शुचिता काफ्ले, इलेक्ट प्रेसिडेन्ट दिपक चन्द्र गौतम लगायतको बाक्लो उपस्तिथि रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै रात्री भोज समेत आयोजना गरिएको थियो ।

अन्तमा क्लबका पास्ट प्रेसिडेन्ट डा. राजु लामा पी. कुन्दनले धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

  • Clock icon
    २०८३ मंसिर ११, शुक्रबार