सातदोबाटोमा तीव्र गतिको कार बिजुलीको पोलमा ठोकिँदा ३ जना घाइते
दुर्घटनामा परेको कार
ललितपुरमा चालकले मादक पदार्थ खाएर चलाएको कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ललितपुरको हात्तीवन ओरालोमा गएराति तीव्र गतिको कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा १५ च ७६५२ नम्बरकोर बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको हो।
‘दुर्घटनामा ललितपुरकै गोदावरी नगरपालिका ३ का विशाल विक गम्भीर घाइते भएकाले उनको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
दुर्घटनामा म्याग्दी घर भई हाल गोदावरी नगरपालिका ३ बस्दै आएका ४० वर्षीय अमरध्वज पौडेल र २९ वर्षीय मोसेर लामिछाने पनि घाइते भएका छन्। उनीहरुको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था भने खतरामुक्त रहेको छ ।
दुर्घटनामा परेको कारका चालक काठमाडौँ महाँकाल घर भएका रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
कारको ठक्करबाट बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएको पोल र तार सडकमा लत्रिएको कारण त्यो क्षेत्रमा सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।
एसपी जोशीका अनुसार सापकोटाले मादक पदार्थ खाएर तीव्र गतिमा चलाउँदा कार दुर्घटना भएको हो।