रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज मंगलबार भोटेकोशी खोलाको बाढीले बगाएको मितेरी पुल निर्माणको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।
अन्तराष्ट्रिय नाका जोड्ने पुलमा पुगेको क्षेतिले मुलुकको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने खतरा अल्याउँदै सो पार्टीले पुल पुन निर्माणको कार्ययोजना खोजेको हो ।
प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण तत्काल थाल्नेगरी स्पष्ट कार्ययोजना ल्याउन भनिएको छ ।
चीनको तिब्बत क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहान भोटेकोशी खोलामा आएको बाढीले रसुवागढी(केरुङ्ग जोड्ने मितेरी पुल बगाएको छ ।
साथै भन्सार पासका लागि यार्डमा रहेका दर्जनौँ मालवाहक कन्टेनर र इभी गाडी बगाउँदा अर्बौंको नोक्सान भएको छ । बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् ।
उक्त घटनाप्रति दुख व्यक्त गर्न निकालेको विज्ञप्तिमा रास्वपाले पुल पुननिर्माण कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकार समक्ष आग्रह गर्दछौ, विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि सरकारलाई ध्यानाकर्षण गराउँदछौं ।’
रास्वपाले घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै आफूहरु अत्यन्तै मर्माहत र चिन्तित भएको जनाएको छ ।
बाढीमा परी बेपत्ता भएकहरुको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन आग्रह गरेको छ ।