आज हामी मधेश र सुदूरपश्चिमका पीडित, आवाजविहीन र वञ्चित जनताको सपना बोकेर अगाडि बढ्दैछौं। भोलि, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा केवल दुई दलको मिलन मात्र होइन, यो हाम्रो साझा पीडामा उब्जिएको आशाको काँध मिलाउने ऐतिहासिक क्षण हो।
सामाजिक सञ्जालमा श्रेष्ठको लेखाइ छ कि- हामीले थुप्रै चोट खाएका छौं, अन्याय सहनुपरेको छ। तर आज हामी घोषणा गर्न चाहन्छौं—अब हाम्रो आवाज फुट्ने छैन, फुटाउने खेलहरूमाथि अन्त्यको आवाज बजेको छ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतज्यूजस्तो विद्वान, बौद्धिक र दूरदर्शी नेतृत्वसँग सहकार्य गर्नु, हाम्रो साझा आन्दोलनको शक्ति र स्थायीत्वको आधार बन्नेछ भन्ने हामीलाई पूर्ण विश्वास छ। उहाँप्रतिको हाम्रो आस्था र सम्मान अडिग छ, र हामी उहाँको मार्गदर्शनमा जनताको पक्षमा निष्कलंक रूपमा काम गर्न तत्पर छौं।
म नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँ, तर यो एकताको निम्ति म सह–अध्यक्ष बन्न राजी भएकी छु। पदभन्दा ठूलो हो—जनताको भरोसा, बलिदानी र हामीले दिएका वाचा। यो निर्णयले केही साथीहरूलाई भावनात्मक रूपमा असर पर्न सक्छ, तर म हार्दिक अनुरोध गर्न चाहन्छु—हामी एक हौं, हाम्रो साझा बाटो अब एउटै छ।
एकता पछि हामी सबैलाई पार्टीको नीति, विधि र अनुशासनमा बाँधिएर अघि बढ्नुपर्नेछ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, संस्थागत हित र जनताको पक्षमा काम गर्न अब हामी सबै बाध्य छौं।
यो एकता सुदूरपश्चिमको पहाडदेखि मधेशको तराईसम्मको जनताको आँखामा उज्यालो झल्काउने प्रयत्न हो। अब हाम्रो संघर्ष एउटै नाममा हुनेछ—जनता, न्याय र समताको निम्ति।
हाम्रो एकताको सन्देश देशभरि फैलियोस्। हामी फुट्ने छैनौं, झुक्ने छैनौं, किनभने हामी अब एउटा सपनाको लागि एक भएका छौं।