ट्रम्पको निर्देशनमा एप्स्टिन सम्बन्धी ग्रान्ड जूरी साक्ष्य सार्वजनिक गर्ने तयारी, शुक्रवार अदालत जाने

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधमा संलग्न चर्चित व्यक्तित्व जेफ्री एप्स्टिनसम्बन्धी “सवै सान्दर्भिक” ग्रान्ड जूरी साक्ष्य सार्वजनिक गर्न निर्देशन दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै न्याय विभागलाई सो निर्देशन दिएको जनाएका हुन्।

उनले लेखेका छन्, “जेफ्री एप्स्टिनलाई दिइएको अतिशय प्रचारका कारण मैले महान्यायाधिवक्ता प्याम बोन्डीलाई अदालतको स्वीकृति प्राप्त भएपछि सवै सान्दर्भिक ग्रान्ड जूरी साक्ष्य सार्वजनिक गर्न भनेको छु।”

ट्रम्पको पोस्ट सार्वजनिक भएको केही मिनेटमै अमेरिकी महान्यायाधिवक्ता प्याम बोन्डीले उक्त निर्णयको पुष्टि गर्दै शुक्रवार (जुलाई १९) अदालतसँग साक्ष्य सार्वजनिक गर्न स्वीकृति माग्ने तयारी गरिएको बताएकी छन्।

यो निर्णय ट्रम्पको Make America Great Again (MAGA) अभियान समर्थकहरूको बढ्दो दबाबपछि आएको हो, जसले एप्स्टिन प्रकरणका थप विवरण सार्वजनिक गर्न माग गर्दै आएका थिए। उनीहरू एप्स्टिनसँग सम्बन्धित सबै गोप्य दस्तावेज खुलाउन जोड दिँदै आएका छन्।

हालसम्म ट्रम्पले सो दस्तावेज पूर्णरूपमा सार्वजनिक गर्ने वा त्यसको निश्चित मिति के हो भन्नेबारे स्पष्ट पारिसकेका छैनन्। तथापि, अदालतले स्वीकृति दिएपछि सार्वजनिक हुने भनिएको ग्रान्ड जूरी साक्ष्यमा एप्स्टिनको आपराधिक गतिविधि, सम्भावित संलग्न अन्य व्यक्तिहरू र विगतमा भएका न्यायिक प्रक्रिया समेटिएको अनुमान गरिएको छ।

जेफ्री एप्स्टिन एक विवादास्पद धनी व्यापारी थिए, जसलाई मानव बेचबिखन, बाल यौन शोषण र प्रभावशाली व्यक्तिहरूसँगको गुप्त सम्बन्धका लागि चिनिन्थ्यो। सन् २०१९ मा हिरासतमै मृत्यु भएका एप्स्टिनप्रति हालसम्म पनि जनचासो कायम छ।

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार