देशभर अण्डाको उत्पादनमा गिरावट आउन थालेपछि बजार मूल्य उच्च विन्दुमा पुगेको छ। हालको मूल्य वृद्धि इतिहासमै सबैभन्दा उच्च रहेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।
संघले विभिन्न पोल्ट्री फार्महरूले तोकेको दररेटको आधारमा किसानका लागि समर्थन मूल्य निर्धारण गर्दै आज (साउन ७) देखि लागू हुने दर सार्वजनिक गरेको हो। नयाँ दरअनुसार, ठूलो अण्डाको समर्थन मूल्य प्रति क्रेट (९३० वटा) ५२५ रुपैयाँ तोकिएको छ भने मध्यम अण्डाको समर्थन मूल्य ४९५ रुपैयाँ कायम गरिएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, ठूलो अण्डाको बजार बिक्री मूल्य प्रति पेटी (७ क्रेट) ३,८५५ रुपैयाँ र मध्यम अण्डाको ३,६४५ रुपैयाँ निर्धारण गरिएको छ।पोखरेलका अनुसार, यसअघि अघिल्लो वर्षको भदौ महिनामा ठूलो अण्डाको समर्थन मूल्य अधिकतम ५१० रुपैयाँ प्रतिक्रेट पुगेको थियो। तर हालको मूल्य ५२५ रुपैयाँ पुगेकोले यो हालसम्मकै उच्च मूल्य हो।
संघले चितवनलाई मूल्य निर्धारणको आधार मानेको भए पनि अन्य जिल्लाहरूमा ढुवानी खर्च र बजार अवस्थाअनुसार मूल्यमा भिन्नता हुन सक्ने जनाएको छ। संघका अनुसार, हाल अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा परेको छ। अहिलेको मूल्य संरचनाले किसानहरूलाई लागत बराबर आम्दानी हुने अवस्था सिर्जना भएको अध्यक्ष पोखरेल बताउँछन्।