नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टीभित्र व्यक्तिगत स्वार्थका कारण गलतफहमी सिर्जना हुन नहुने स्पष्ट गरेकी छन्।
पोखरामा नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पार्टी भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक प्रतिस्पर्धा स्वाभाविक र स्वस्थ हुने बताउँदै त्यसले पार्टीभित्र विभाजन ल्याउन नहुने धारणा राखिन्। “पार्टी भनेको व्यक्तिगत महत्वाकांक्षा पुरा गर्ने थलो होइन, यो राष्ट्र र समाज सेवा गर्ने संस्थागत स्थान हो,” उनले भनिन्।
डा. देउवाले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता संस्थापक नेताहरूको योगदान स्मरण गर्दै तिनको आदर्श अनुसार अघि बढ्नुपर्नेमा जोड दिइन्। “हाम्रा शब्द र कार्यहरूले पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सोच राखेर अघि बढ्नुपर्छ,” उनले भनिन्।
आगामी १५औं महाधिवेशनतर्फ इशारा गर्दै उनले प्रतिस्पर्धाबाट पार्टी थप बलियो हुने विश्वास व्यक्त गरिन् तर त्यसको सर्तका रूपमा कसैलाई बिच्क्याउनु नपर्ने र एकता कायम राख्नुपर्ने भनाइ राखिन्।
डा. देउवाले हालका नयाँ राजनीतिक दलहरूले सामाजिक सञ्जाल प्रभावकारी रूपमा प्रयोग गरिरहेको भन्दै नेपाली कांग्रेसले पनि सकारात्मक शैलीमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्नेमा जोड दिइन्। देशमा “केही पनि भइरहेको छैन” भन्ने नकारात्मक मानसिकता फैलाउने प्रयास भइरहेको भन्दै उनले युवा वर्गलाई यस्ता प्रवृत्तिबाट टाढा रहन आह्वान गरिन्।
“देशमै केही गर्ने सकिन्छ, देश बनाउने जिम्मेवारी यहीँका युवाले लिनुपर्छ,” भन्दै उनले आप्रवासनको मोह त्याग्न आग्रह गरिन्। गण्डकी प्रदेश नेपाली कांग्रेस अध्यक्ष शुक्रराज शर्मा र कास्की जिल्ला अध्यक्ष किशोर दत्त बरालले पनि पार्टीभित्र राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल्यबाट टसमस नहुने धारणा राख्दै एकता र सिद्धान्तमा अडिग रहनुपर्ने बताए। बैठकमा नेताहरूले कांग्रेस देशको जुनसुकै चुनौती सामना गर्न सक्ने शक्ति भएको पनि उल्लेख गरेका थिए।