अभिनेत्री मनिषा कोइरालाले नेपाललाई हिन्दु अधिराज्यको रुपमा पुनःस्थापना गराउनुपर्ने बताउनुभएको छ । राजावादीहरुको आजको प्रदर्शनअघि सामाजिक सञ्जालमा लेख्दै उनले कुनै पनि राजनीतिक दल राजतन्त्रभन्दा माथि नहुने दाबी गर्नुभएको हो ।
दलहरु प्रतिस्पर्धा, विभाजन र सरकार बनाउनमै केन्द्रित रहने तर राजतन्त्रले सनातन धर्म र इतिहासमा गहिरो जरा गाडेकाले हाम्रो मौलिक पहिचानलाई सम्झाउने कोइरालाले उल्लेख गर्नुभएको छ ।
मनिषा लेख्नुहुन्छ, ‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ, जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै, दिन सक्दैनन् । दलहरु प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन् । तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रुपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ ।’
गणतन्त्र राजनीतिक खेलमा अल्झिएकाले वर्तमान आवश्यकता गैर–राजनीतिक संस्था रहेको जनाउँदै कोइरालाले थप्नुहुन्छ, ‘जसले जनता, संस्कृति र राष्ट्रको मूल्यहरूको रक्षाका लागि सन्तुलन र नियन्त्रणको काम गर्न सकोस् ।’