कार्साङ फिल्मका निर्देशक याम शेर्पाले नँया फिल्म मिरमिरे बनाउने भएका छन् । फिल्मका लागि दयाहाङ राईलाई अनुबन्धित गरिएको छ । फिल्ममा राई मुख्य भूमिकाका लागि अनुबन्धित भएको खबर बाहिर आएको छ ।
दयाहाङलाई अनुबन्धित गरेसँगै फिल्ममा कलाकारको लाइनअप राम्रो हुने निर्देशक शेर्पाले जानकारी गराएका छन् ।
दयाहाङ यामको कार्साङमा पनि मुख्य भूमिकामा थिए । यार्सा फिल्म्स्को ब्यानरमा बन्ने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । फिल्मको थिम पोस्टर सार्वजनिक भइसकेको छ ।
थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् । सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नँया कामको शुरूवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ।
पोस्टरले बिहानीसँगै नँया संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन । फिल्मको कथा पनि निर्देशक स्वयंको छ ।
‘हाम्रो फिल्म सामाजिक विषयवस्तुमा हुनेछ’ निर्देशक तथा लेखक शेर्पाको भनाई छ । निमु शेर्पा, चोङ्वा लामा र आङ्छिरिङ शेर्पाले निर्माण गर्ने फिल्म यही वर्ष रिलिज हुनेछ ।
फिल्ममा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ सह निर्माता तथा रोहित कट्टेल कार्यकारी निर्मातामा रहनेछन् ।