राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान प्रस्तुत गरेको छ।
आज सोमबार साँझ बसेको रास्वपा सचिवालयको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक नैतिकता र कर्तव्यपालनमा चुकेको निष्कर्ष निकाल्दै अडान लिने निर्णय गरेको हो।
‘भिजिट भिसा सेटिङबाट ४ अर्बभन्दा बढी रकम घुसकाण्डमा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएका तथ्यहरू सार्वजनिक भइरहेको तथा गृहमन्त्रीकै संलग्नताको बाछिटाहरू समेत देखिएकोले सत्ताधारी दल आफैं फैसला गर्ने निकाय जसरी गम्भीर आरोप लागेका दोषी जोगाउने र जनताको आँखामा धुलो फ्याँक्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।