सरकारले हालै संघीय संसदमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ दर्ता गराएको छ।
सूचना प्रविधिको विकास, प्रबर्द्धन तथा नियमन गर्न, विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्याङ्क वा विवरणको संरक्षण तथा व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको बताइएको छ।
विधेयकको परिच्छेद १४ मा कसूर् र सजायबारे प्रावधान गरिएको छ। कुन कुन कुरा गर्नुलाई के कसूर भनिने र उक्त कसूर् गरेबापत् के सजाय हुने भन्नेबारे यो परिच्छेदको दफा ८० बाट १०३ सम्म उल्लेख गरिएको छ।
दफा ८० मा मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्न नहुने शीर्षकमा मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्ने वा प्रतिकूल असर पार्ने कुनै कार्य गर्न वा गराउन हुदैन। कसूर गरेमा कसूरको मात्रा हेरी पाँच वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
दफा ८१ मा कसैले आफू वा अरु कसैलाई आर्थिक वा अन्य लाभ पुऱ्याउने नियतले अनधिकृत रुपमा हानी गरे तीन वर्षसम्म कैद वा पाँचलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
दफा ८२ मा विद्युतीय प्रणालीको स्रोत सङ्केत नष्ट, परिवर्तन गर्न वा चोरी गर्न नहुने शीर्षकमा स्रोत सङ्केत तथा सूचनाको चोरी गर्न, अनधिकृत रुपमा नष्ट गर्न वा परिवर्तन गरेमा कसूरको मात्रा ही ३ वर्ष कैद वा ५ लाखसम्म जरिबाना वा दुवै हुने उल्लेख छ।
दफा ८३ को कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच गरे दुई वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ।
दफा ८४ मा विद्युतीय प्रणालीमा अवरोध गरे तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
यस्तै ८५ ले विद्युतीय स्वरुपको सूचनालाई क्षति गरे तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।
दफा ८६ मा गोपनीयता भङ्ग गरेमा दुई वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।
दफा ८७ मा झुट्टा प्रमाणपत्र प्रकाशन गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
दफा ८८ को शीर्षक अश्लील सामग्री उत्पादन, वितरण, प्रकाशन, प्रसार वा खरिद बिक्री गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
विधेयकको दफा ८९ गोप्य कोड चोरी गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
दफा ९० मा कम्प्युटर प्रणालीबाट डाटा चोरी गरे कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
विधेयकको दफा ९१ मा कम्प्युटर प्रणालीमा अवाञ्छित एप्लिकेशन फैलाए कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
दफा ९३ ले इन्टरनेट अफ थिङ्समा आक्रमण गरेमा कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
दफा ९४ को शीर्षक पहिचानको दुरुपयोग गरे एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
दफा ९५ कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरी कसूर गरेमा सजाय हुने सम्बन्धमा रहेको छ। यस अनुसार कसैले यस ऐन बमोजिम कसूर मानिने कार्य कृत्रिम बौद्धिकताको प्रयोग गरी गरेमा त्यस्तो कसूर सोही व्यक्तिले गरे सरह मानी सजाय हुनेछ।
दफा ९६ मा कसूर गर्न दुरुत्साहन गर्न नहुने उल्खेख छ। कसैले यस ऐन बमोजिमको कुनै कसूर गर्न दुरुत्साहन गरेमा वा अपराधिक षडयन्त्रमा संलग्न भएमा त्यस्तो व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरहको सजाय हुनेछ।
दफा ९७ मतियारलाई हुने सजायसँग सम्बन्धित छ। यस ऐन बमोजिमको कुनै कसूर गर्न सघाउने वा अन्य कुनै ब्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई भएको सजायको आधा सजाय हुने उल्लेख गरिएको छ।