नेपालसँग पराजित भयो स्कटल्याण्ड

घरेलु मैदान स्कटल्यान्डमा चलिरहेको सो खेलमा नेपालसँग स्कटल्यान्डले हार व्यहोरेको छ ।

नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

पहिलो जितसँगै नेपालले दुई खेलमा दुई अंक जोडेको छ । पहिलो हार बेहोरेको स्कटल्यान्डको पनि सामन खेलबाट दुई अंक नै छ ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नेपालले हार बेहोर्दा स्कटल्यान्डले जित निकालेको थियो ।

मंगलबार टिटउट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए ।

स्कटल्यान्डका लागि सफ्यान शरिफ र माइकल लिस्कले समान दुई तथा मार्क वाट, ज्याक जार्विस र ज्यास्पर डेभिडसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १९।४ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ४६, कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।

करणले यही खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनले जर्ज मुन्सेलाई आफ्नो १००औं सिकार बनाए ।

करण नेपालका लागि यो उपलब्धी हासिल गर्ने दोस्रो बलर हुन् । यसअघि सन्दीपले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका थिए ।

अब नेपालले बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।