उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप २०२६ को छनोटमा प्रतिस्पर्धा गर्ने नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
नेपालले समूह एफमा आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। हरेक समूहको विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछ ।
नेपालले असार १५ गते (२९ जुन) लाओससँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ। श्रीलंकासँग असार १८ गते (२ जुलाई) खेल्ने नेपालले समूह चरणको अन्तिम खेल उज्वेकिस्तानसँग असार २१ गते (५ जुलाई) खेल्ने तालिका छ।
नेपालले अहिलेसम्म उज्वेकिस्तानसँग खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि सबै ८ खेलमा जित निकालेको इतिहास छ।
छनोटमा एसियाका ३४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । एसियन कप २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिवलाई हरि प्रसाद लम्साल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीले आज बिदाइ गरे।
सचिव लम्सालले टोली जितको शुभकामना दिए। अध्यक्ष नेम्वाङले यो टोलीबाट बढी विश्वास गरिएको र यही टोलीबाट धेरै अपेक्षा गरिएको बताए। उनले विदेशी प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई धेरै भरोसा गरेकोले छनोट हुनेमा विश्वस्त रहेको पनि जिकिर गरे।
नेपाली महिला फुटबल टोली
गोलरक्षक -एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डर– गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाइ, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डर – विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल
फरवार्ड – सावित्रा भण्डारी ‘साम्बा’, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल