प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा राखिएको ‘टेक एन्ड पे’को व्यवस्था नहटाए बजेट पास हुन नसक्ने चेतावनी दिएका छन् ।
देउवाले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर यस्तो चेतवानी दिएका हुन् । सरकारले गत १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) टेक एन्ड पे प्रावधानअनुसार मात्र गरिने उल्लेख छ ।
उक्त व्यवस्थाले निजी क्षेत्रले जलविद्युत्मा गरेको लगानी जोखिममा पुर्याएको, थप लगानीलाई हतोत्साही गराए तथा लोडसेडिङ निम्त्याउन सक्ने ऊर्जा प्रवद्र्धकको दाबी छ । उनीहरूले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री देउवालगायत प्रमुख दलका नेताहरूलाई भेटेर ‘टेक एन्ड पे’को व्यवस्था हटाउन माग गर्दै आएका छन् । ऊर्जा व्यवसायीले यो व्यवस्था नहटाए आन्दोलन गर्ने तथा विद्युत उत्पादन ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।