एसीसी पुरुष यू-१६ कपमा नेपालको  जित

मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले लगातार दोस्रो जित दर्ता गरेको छ।

मंगलबार बिहान भएको खेलमा नेपालले जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो।

जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र विकेट किपर शिवांश बजगाईंले ६९ बलमा ७६ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित हासिल गरेको हो।

प्रसिद्ध ३३ र शिवांश ३८ रनमा अविजित रहे। प्रसिद्धले ३७ बलमा ३ चौका प्रहार गरे।

शिवांशले ४२ बलमा ७ चौका हाने। अर्का ओपनर जय थापा १ रनमा क्याच आउट भए।

जापानको भने जारी प्रतियोगितामा यो पहिलो हार हो। जापानले पहिलो खेलमा भुटानलाई २ सय १५ रनले हराएको थियो।

शुभमको घातक बलिङमा जापान ३४।३ ओभरमा ८० रन जोड्दा अलआउट भयो। शुभमले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए।

अभय यादवले २ तथा सुशीलबहादुर रावल र विपिन शर्माले एक-एक विकेट लिँदा जापान पूरै ओभर टिक्न सकेन।

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाए। ग्याबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार इन्डोनेसियाविरुद्ध खेल्नेछ। लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा समूह एको अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पराजित जापान २ अंकमा दोस्रो स्थानमा छ। प्रतियोगितामा पहिलो जित निकालेको सिंगापुर तेस्रो स्थानमा छ।

आजै भएको अर्को खेलमा सिंगापुरले इन्डोनेसियालाई ९ विकेटले नै हराएको छ। समूह बीको अर्को खेलमा मलेसियाले मालदिभ्सलाई ९ विकेटले नै जितेको छ। प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्।  समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्यान्ड र म्यानमार छन्। समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध जुलाई १ मा खेल्ने तालिका छ।

समूहको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।