कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । कैलालीको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् ।
डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चा सहित चार वटा डल्फिन देखिएको हो ।
मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेकोले गत वर्ष असार पहिलो साता डल्फिन आएको हो ।
डल्फिन संरक्षण केन्द्रका अनुसार कैलालीको मोहना, पथरैया, काँडा र कान्द्रा लगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने हो ।
भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको छ ।
तीन महिना भन्दा बढी समय सम्म डल्फिन बस्ने गरेकोले कर्णाली नदीमा फर्कने गरेकोले नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षा याममा डल्फिन कैलालीका नदीमा आउने गरेको छ ।
स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन देखिन थालेको हो । त्यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइने पाइने गरेको हो । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने गर्छ ।
विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छन ।
साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । चार पटक डल्फिन महोत्सवको आयोजना समेत गरिएको छ । कर्णालीमा विसं २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो ।
स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलो पटक डल्फिन देखेपछि यसको प्रचार प्रसार गरेको बताइएको छ । आफूले यहाँ पहिलो पटक डल्फिन देखेपछि प्रचार प्रसार तथा संरक्षणका लागि जुटेको बाजेको भनाई छ ।
मनसुनको याम सुरु भएपछि डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिका लगायत तेस्रो मुलुकका नागरिक कैलाली पुग्ने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।