काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ ।
सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ ।
त्यहीअनुसार राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ, त्यो छलफलमा अब कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न मोडलका कुरा हुनेछन्,’परिस्थितिलाई साम्य पार्न लिनुपर्ने विकल्पहरुमा छलफल हुनेछन् र निर्णय हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन् । बैठकमा नयाँ सरकार गठनदेखि भावी प्रक्रियाका विषयमा छलफल हुनेछ । त्यहाँ हुने निर्णयलाई नेपाली सेनाले पनि मान्ने छ ।
नेपाली सेना सदैव जनताको साथमा छ, अगाडि आउने जिम्मेवारी लिन पनि तयार छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजी युवालाई नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहनु भनेका थिए । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ, तयार रहनुहोला,’ उनले भनेका थिए, ‘तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’
नेपाली सेनाले समेत विभिन्न पक्षसँग समेत छलफल गरेको छ । मंगलबार त्यसको विरुद्धमा भेला भएका प्रदर्शनकारीले सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका थिए । त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानमा आगजनी भएको थियो ।
