सडक विभागले दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि अब बाटो सहज भएको जनाएको छ ।
पृथ्वी, अरनिको लगायतका प्रमुख राजमार्गमा पहिरो पन्छाएर सुधारको काम पूरा भएकाले यात्रुहरूले यसपटक सास्ती भोग्न नपर्ने विभागले जनाएको हो । यसअघि मुग्लिन–नारायणघाट सडकखण्डमा अवरोध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले ठूलो वर्षा नभए आगामी दिनमा समस्या नआउने विश्वास व्यक्त गरे ।
हालसम्म चार राजमार्ग पूर्ण रूपमा खुलाइसकिएको छ भने १७१ राजमार्ग एकतर्फी सञ्चालनमा छन् । तर, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा रसुवागढी क्षेत्रमा यातायात ठप्प छ । एक्साभेटर र लोडर प्रयोग गरेर बाटो खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ ।
यस्तै, ताप्लेजुङको फक्ताङलुङ–रानीपुल बेलीब्रिज बाढीले बगाएपछि सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । उक्त पुल पुनः निर्माणका लागि रेमिट हाइड्रोमार्फत पहल भइरहेको विभागको भनाइ छ ।
त्यसैगरी, कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको अल्फटे, रानी–विराटनगर–धरान–हिले मार्ग, साथै रसुवाको तातोपानी–टिमुरे खण्डमा पनि यातायात प्रभावित भएको विभागले जनाएको छ ।
