देशकै प्रतिस्पर्धात्मक स्टिल बजारमा सक्रिय रियल स्टिल प्रालिले एक वर्षको अवधिमा आफ्नो व्यापार १३.२१ प्रतिशतले वृद्धि गरेको छ। सन् २०२५ मा कम्पनीले कुल १ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन सन् २०२४ को १ अर्ब २४ करोड १० लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
कम्पनीले सन् २०२३ मा १ अर्ब २३ करोड १० लाख, र सन् २०२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
हालसम्म नाफाको दर भने घटेको देखिएको छ। गत वर्ष कम्पनीले खुद नाफा ९ प्रतिशत कायम गरेको छ, जुन सन् २०२४ को १० प्रतिशतभन्दा कम हो। तर, वास्तविक नाफाको रकम भने वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०१८ मा स्थापना भई २०२० बाट व्यावसायिक उत्पादन सुरु गरेको रियल स्टिलले एमएस पाइप, सटर पत्ति, सटर गाइड लगायतका स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ५०,१९८ मेट्रिक टन रहेको छ र आवश्यक कच्चा पदार्थ भारतीय बजारबाट आयात गरी आपूर्ति गर्दै आएको छ।
कम्पनीले अहिलेसम्म १ अर्ब ३६ करोड २ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा ७५ करोड ३८ लाख र अल्पकालीन कर्जा ६१ करोड ५० लाख रहेको छ।
अध्यक्ष प्रेमकुमार जतियाको नेतृत्वमा कम्पनीले उत्पादन क्षमता र बजार विस्तारको रणनीति अघि बढाउँदै आएको छ। आगामी वर्षमा प्रतिस्पर्धात्मक मूल्य र गुणस्तरीय उत्पादनमार्फत बजार हिस्सेदारी बढाउने लक्ष्य कम्पनीले राखेको छ।
