कारोबार हुने साताको अन्तिम दिन आज शेयर बजारमा ६४ भन्दा बढी अंकले वृद्धि

नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरु केही विश्वस्त देखिन थालेका छन्। साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ६४.६७ अंक बढेर २८७७.६७ बिन्दुमा पुगेको छ।

बिहीबार ३ सय ४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर खरिद बिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६ रुपैयाँको कारोबार भएको छ।

यो साता पहिलो कारोबारमा आइतबार शेयर बजार ४.४५ अंकले बढेको थियो। सोमबार २६.०७ अंकले घटेको बजार मंगलबार १३.५१ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पुन: बढेको हो। समग्रमा यो साता बजार ५.५६ अंकले बढेको छ।

लामो समयदेखि स्थिर रहेको सेयर बजार निर्वाचनको नतिजाले नयाँ गति लिएकोमा केही दिन स्थिर देखिएको थियो। अहिले फेरी बजारमा उछाल देखिएको छ।

विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।

आज बिहीबार सेन्सेटिभ इण्डेक्स २ दशमलव ४० अंक, फ्लोट इण्डेक्स २ दशमलव ५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ५१ अंकले बढेको छ।

कर्पोरेट डेपलपमेन्ट बैंक, सालपा विकाश बैंक,रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनी कम्पनीको ६७ करोड १६ लाख ६५ हजार, नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। आजको कारोबारमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.९५ प्रतिशत बढेको छ भने बैंकिङ् उपसमूहका परिसूचक ३।१६ प्रतिशतले बढेको छ।