काठमाडौं । नेपालको पूँजी बजारमा महत्वपूर्ण नीतिगत परिवर्तन भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गर्दै लगानीकर्तालाई चौबिसै घण्टा खरिद–बिक्री आदेश (अर्डर) दिन सक्ने व्यवस्था स्वीकृत गरेको छ ।
यसअघि लगानीकर्ताले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको नियमित कारोबार अवधिमा मात्रै अर्डर दिन पाउने व्यवस्था थियो । अब भने समयको सीमाबाहिर पनि अर्डर प्रविष्ट गर्न सकिने भएको छ । नेप्सेले सुरुवाती प्रस्तावअनुसार साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म ‘अफ आवर’ अर्डर प्रणाली लागू गर्ने योजना बनाए पनि बोर्डले त्यसलाई परिमार्जन गर्दै पूर्ण २४ घण्टा नै अर्डर गर्न मिल्ने व्यवस्था स्वीकृत गरेको हो ।
यो व्यवस्थाले विशेष गरी विदेशमा रहेका नेपाली लगानीकर्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । समयको अन्तरका कारण दोस्रो बजारमा सक्रिय हुन नसक्ने गुनासो गर्दै आएका लगानीकर्ताले अब सहज रूपमा सहभागिता जनाउन सक्नेछन् ।
नयाँ ‘अफ आवर’ अर्डर प्रणालीमा मूल्य निर्धारणका लागि निश्चित मापदण्ड पनि तोकिएको छ । लगानीकर्ताले सोही दिनको अन्तिम कारोबार मूल्यमा अधिकतम २ प्रतिशतसम्म थपघट गरी अर्डर दिन सक्नेछन् ।
नेप्सेले यसका लागि आवश्यक प्राविधिक पूर्वाधार तयार गरिसकेको जनाएको छ । साथै, विनियमावलीमा सर्किट ब्रेकसम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । नेप्सेले तीन तहको सर्किट ब्रेक प्रस्ताव गरे पनि बोर्डले हाललाई दुई तहको व्यवस्था मात्र स्वीकृत गरेको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गैरआवासीय नेपालीलाई पूँजी बजारमा सहज पहुँच दिन तथा लगानी फिर्ता लैजान पाउने व्यवस्था गर्न सुझाएको सन्दर्भमा यो निर्णयलाई महत्वपूर्ण मानिएको छ ।
नयाँ व्यवस्थाले प्राथमिक बजारमा मात्र सीमित साना लगानीकर्तालाई दोस्रो बजारतर्फ आकर्षित गर्ने तथा समग्र बजारको आकार विस्तारमा टेवा पुर्याउने विश्वास गरिएको छ । अब नेपाली शेयर बजार अन्तर्राष्ट्रिय समयतालसँग तालमेल मिलाउँदै थप आधुनिक प्रणालीतर्फ अघि बढेको छ ।
