सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

काठमाडौं । सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि आज (वैशाख ३ गते बिहीबार) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । लगानीकर्ताले प्रति कित्ता १०० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ ।

आईपीओ छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ । मागअनुसार आवेदन परेमा छिट्टै बन्द हुने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।