कृषि र सूचना प्रविधि आर्थिक रूपान्तरणको आधार

कृषि र आइटीको समन्वयमार्फत डिजिटल व्यापार, रोजगारी सिर्जना र वैदेशिक मुद्रा आर्जन सम्भव भई नेपालको दिगो आर्थिक विकासका लागि मार्गप्रशस्त गर्छ

नेपालको आर्थिक समृद्धिको जग कृषि क्षेत्रमै आधारित छ । परम्परागत रूपमा यहाँको अर्थतन्त्र कृषिमा निर्भर रहँदै आएको छ । अहिले पनि कृषि क्षेत्र ठुलो जनसंख्याको जीवनयापनको आधार बनेको छ । तर, बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र बजारको प्रतिस्पर्धात्मक स्वरूपलाई मध्यनजर गर्दै कृषि प्रणालीलाई आधुनिक, व्यवस्थित र उत्पादनमुखी बनाउनु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

कृषिको आधुनिकीकरण, भण्डारण प्रणालीको सुदृढीकरण, बजार व्यवस्थापनको सुधार र प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्न सकिन्छ । यसले केवल आत्मनिर्भरता हासिल गर्ने मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउँदै रोजगारी सिर्जना गर्नसमेत सहयोग पुर्‍याउँछ । त्यसैले अबको सरकारले कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै स्पष्ट नीतिसहित अगाडि बढ्नुपर्छ ।

कृषिको आधुनिकीकरण, प्रविधि प्रयोग र बजार सुनिश्चितताले उत्पादन वृद्धि भई आत्मनिर्भरता हासिल हुन्छ

भौगोलिक विविधता, उर्वर जमिन, पर्याप्त पानीका स्रोत र मिहिनेती किसानहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । यिनको सही सदुपयोग गर्न सके नेपाल कृषिमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी राष्ट्र बन्ने क्षमता राख्छ । तर, विडम्बना के छ भने यति धेरै सम्भावना हुँदाहुँदै पनि हामी अझै तरकारीदेखि फलफूलसम्म विदेशबाट आयात गर्न बाध्य छौँ ।

यस अवस्थालाई परिवर्तन गर्न उत्पादन वृद्धिसँगै बजार सुनिश्चितता आवश्यक छ । किसानले उत्पादन गरेपछि त्यसको उचित मूल्यमा खरिद हुने सुनिश्चितता राज्यले लिनुपर्छ । यसमा निजी क्षेत्रसँग सहकार्य गर्न सके अझ प्रभावकारी परिणाम प्राप्त गर्न सकिन्छ ।

कृषि आधुनिकीकरणमा प्रविधिको भूमिका

कृषिमा प्रविधि प्रयोगले चामत्कारिक परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण नेपालमै देखिएको छ । जुम्ला र हुम्लाजस्ता हिमाली जिल्लामा परम्परागत रूपमा स्याउ खेती मात्र सम्भव मानिन्थ्यो । तर, प्रविधि प्रयोग र वैज्ञानिक अध्ययनका आधारमा त्यहाँ तरकारी तथा अन्य बालीको उत्पादन सफल भएको छ ।

‘जियोकृषि’लगायत डिजिटल प्लेटफर्महरूले माटोको गुण, मौसमको अवस्था र उपयुक्त बालीबारे जानकारी दिँदै किसानलाई सही निर्णय लिन सहयोग पुर्‍याएका छन् । यसले कृषिमा नवीनता ल्याउँदै उत्पादन र आम्दानी दुवै बढाएको छ ।

सूचना प्रविधिको प्रयोगमार्फत किसानहरूले मौसम पूर्वानुमान, बजार मूल्य, बिउ तथा मलको उपलब्धता, रोग नियन्त्रणका उपायजस्ता अत्यावश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्छन् । आधुनिक उपकरण, सिँचाइ प्रणाली, ड्रिप प्रविधि र हरितगृह खेतीजस्ता उपाय अपनाउन सके उत्पादन र गुणस्तरमा उल्लेखनीय सुधार आउँछ । यसले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमबाट व्यावसायिक र प्रतिस्पर्धी क्षेत्रमा रूपान्तरण गर्न मद्दत गर्छ ।

 

कृषि प्रणाली सुधारका चुनौती र समाधान

नेपालको कृषि क्षेत्रमा थुप्रै संरचनात्मक समस्या छन् । सानो जमिनको स्वामित्व, बजार पहुँचको अभाव, भण्डारणको कमी, वित्तीय पहुँचको कमजोरी र नीतिगत अस्थिरता प्रमुख चुनौतीका रूपमा रहेका छन् । यी समस्या समाधान गर्न स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र सरकार, निजी क्षेत्र तथा किसानबिच सहकार्य आवश्यक छ । कृषि उत्पादनको ब्रान्डिङ, मूल्य अभिवृद्धि र निर्यात प्रवद्र्धनमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ । कृषिलाई दिगो र व्यवस्थित बनाउन दीर्घकालीन रणनीति आवश्यक छ । यसका लागि कृषि बिमा, सहुलियत ऋण, आधुनिक उपकरणमा अनुदान र बजार संरचना सुधारजस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।

 

सूचना प्रविधि

सूचना प्रविधि (आइटी) र कृत्रिम बुद्धिमत्ता (एआई)ले नेपालको आर्थिक रूपान्तरणमा नयाँ आयाम थप्न सक्छ । पछिल्ला वर्षहरूमा नेपालमा आइटी क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । ठुलो संख्यामा दक्ष जनशक्ति उत्पादन भइरहेको छ र सेवा निर्यातसमेत बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली युवाहरूले आफ्नो सिपमार्फत प्रतिस्पर्धा गर्न थालेका छन्, जुन राष्ट्रका लागि सकारात्मक संकेत हो । यदि यस क्षेत्रलाई सही दिशा र नीतिगत सहयोग प्रदान गर्न सकियो भने यो वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बन्न सक्छ । तर, यस क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन स्पष्ट नीति, करमा सहुलियत, लगानीमैत्री वातावरण र अन्तर्राष्ट्रिय स्तरअनुसारको नियमन आवश्यक छ ।

 

कृषि र आइटीको एकीकरण

आजको युगमा कृषि र सूचना प्रविधिलाई अलग–अलग रूपमा हेर्न सकिँदैन । यी दुई क्षेत्रको संयोजनले नै वास्तविक आर्थिक रूपान्तरण सम्भव बनाउँछ । डिजिटलाइजेसन र इ–कमर्सको विस्तारमार्फत कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म सहज रूपमा पुर्‍याउन सकिन्छ । ब्लकचेन प्रविधि प्रयोग गरेर आपूर्ति शृंखला पारदर्शी बनाउन सकिन्छ भने एआईको प्रयोगबाट उत्पादनको पूर्वानुमान र जोखिम व्यवस्थापन गर्न सकिन्छ । डिजिटल नेपाल फ्रेमवर्कजस्ता योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके कृषिमा लागत घटाउँदै प्रतिफल बढाउन सकिन्छ ।

 

ग्रामीण विकास र रोजगारी सिर्जना

आइटी र डिजिटल सेवा अब केवल सहरमा सीमित छैन, ग्रामीण क्षेत्रमा पनि यसको पहुँच विस्तार भइरहेको छ । यदि गाउँमै बसेर कृषि उत्पादन गरी अनलाइनमार्फत बिक्री गर्ने वातावरण सिर्जना गर्न सकियो भने युवाहरूका लागि ठुलो अवसर खुल्नेछ ।

यसले वैदेशिक रोजगारको निर्भरता घटाउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि सशक्त बनाउनेछ । यसका लागि डिजिटल साक्षरता, सिप विकास तालिम, पूर्वाधार निर्माण र निजी क्षेत्रसँग सहकार्यमा लगानी बढाउन आवश्यक छ ।

 

पूर्वाधार र नीतिगत सुधारको आवश्यकता

आइटी र कृषि दुवै क्षेत्रको विकासका लागि पूर्वाधार अत्यन्त महŒवपूर्ण छ । उच्च गतिको इन्टरनेट, डेटा सेन्टर, फाइबर अप्टिक नेटवर्क र भरपर्दो विद्युत् आपूर्ति अनिवार्य छन् । देशभित्र सुदृढ डिजिटल संरचना विकास गर्न सके मात्र डिजिटल सार्वभौमिकता सुनिश्चित गर्न सकिन्छ । त्यसैगरी, विभिन्न आर्थिक कानुनलाई सरल र एकीकृत बनाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । भारत, सिंगापुर र मलेसियाजस्ता देशहरूको अनुभवबाट सिक्दै नेपालले आफ्नो नीति सुधार गर्न सक्छ ।

नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील देशमा भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपत् बारम्बार देखा पर्छन् । यस्ता विपत् व्यवस्थापनमा सूचना प्रविधिको महŒवपूर्ण भूमिका हुन्छ । पूर्वानुमान प्रणाली, डेटा विश्लेषण र डिजिटल सूचना प्रणालीमार्फत विपत्को जोखिम न्यूनीकरण गर्न सकिन्छ । स्थानीय सरकार र समुदायको सक्रिय सहभागितामा प्रविधि प्रयोग गर्न सके विपत् व्यवस्थापन अझ प्रभावकारी बन्न सक्छ ।

कृषि भविष्य हो, प्रविधि मार्ग हो

नेपालको आर्थिक रूपान्तरणका लागि कृषि र सूचना प्रविधि दुवै क्षेत्रको समन्वय अपरिहार्य छ । कृषि हाम्रो आधार हो भने प्रविधि त्यसलाई उचाइमा पुर्‍याउने माध्यम हो । कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि, बजार विस्तार र निर्यात प्रवद्र्धन गर्न सकियो भने नेपाल आत्मनिर्भर मात्र होइन, समृद्ध राष्ट्र बन्न सक्छ ।

कृषि केवल पेसा होइन, यो हाम्रो जीवन, संस्कृति र भविष्य हो । किसानको सम्मान, सुरक्षाको प्रत्याभूति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत कृषिलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ ।

राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स