नेपालको बाटो : उत्पादन वृद्धि र निर्यातमुखी अर्थतन्त्र

उत्पादन वृद्धि र निर्यात विस्तारविना नेपालको अर्थतन्त्र दिगो बन्न सक्दैन, सरकार–निजी क्षेत्र सहकार्य अत्यावश्यक छ

नेपालको अर्थतन्त्र एक महŒवपूर्ण मोडमा उभिएको छ, जहाँ आयातमा निर्भर संरचनाबाट उत्पादन र निर्यातमा आधारित प्रणालीतर्फ रूपान्तरण अपरिहार्य देखिएको छ । विश्वका धेरै देशहरूले निर्यातलाई आफ्नो आर्थिक विकासको मुख्य आधार बनाएका छन् । ती देशहरूले दिगो आर्थिक वृद्धि हासिल गरेका छन् । नेपाल भौगोलिक रूपमा सानो भए पनि स्रोत, सम्भावना र अवसर कुनै पनि हिसाबले कमजोर छैन । तर, कमजोर नीतिगत कार्यान्वयन, संरचनागत समस्या र दीर्घकालीन दृष्टिको अभावका कारण देशको निर्यात क्षमता पूर्ण रूपमा उपयोग हुन सकेको छैन ।

वर्तमान अवस्थामा नेपाल आयातमुखी अर्थतन्त्रमा परिणत भएको छ, जसले व्यापार घाटा निरन्तर बढाइरहेको छ । यस्तो अवस्थामा उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राखेर नयाँ आर्थिक दिशा तय गर्नु आवश्यक छ । यसका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य अनिवार्य छ । निजी क्षेत्र उत्पादन र लगानीका लागि तयार भए पनि सरकारी सहजीकरण, नीतिगत स्थिरता र पूर्वाधार विकासविना अपेक्षित परिणाम हासिल गर्न सकिँदैन ।

सस्तो ऊर्जा, उद्योगमैत्री नीति र प्रविधि विस्तारले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्छ

इतिहासले पनि नेपाल उत्पादन र निर्यातमा सक्षम देश भएको पुष्टि गर्छ । लिच्छवि र मल्लकालमा नेपाल आर्थिक रूपमा समृद्ध थियो र चीन तथा भारतसँगको व्यापारमा अग्रणी भूमिका निर्वाह गथ्र्यो । तर, समयसँगै औद्योगिक विकासमा आएको अवरोध, नीतिगत अस्थिरता र उत्पादन लागत वृद्धिका कारण नेपाल क्रमश: आयातमा निर्भर बन्न पुग्यो ।

नेपालमा उत्पादन क्षमताको अभाव छैन । विगतमा हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, भृकुटी पल्प एन्ड पेपर, कृषि औजार कारखाना र वीरगन्ज चिनी उद्योगजस्ता ठुला उद्योग सञ्चालनमा थिए । तर, उचित व्यवस्थापनको अभाव, सरकारी दूरदर्शिताको कमी र प्रतिस्पर्धात्मक वातावरण नहुनाले यी उद्योग धराशयी भए । यस्ता उद्योगहरूको पुन: सञ्चालन र नयाँ उद्योगहरूको स्थापना आर्थिक उन्नतिको आधार बन्न सक्छ । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि प्रतिस्पर्धी उत्पादनको पहिचान र विकास अत्यन्त आवश्यक छ ।

नेपालबाट निर्यात गर्न सकिने वस्तुहरूमा ऊनी सामग्री, गलैँचा, पस्मिना, नेपाली कागज, तयारी पोसाक, हस्तकला, गहना, दाल, अलैँची, छुर्पी, जडीबुटी तथा जलविद्युत् प्रमुख छन् । विशेषगरी जलस्रोतको प्रचुर सम्भावना भएको नेपालले विद्युत् उत्पादन र निर्यातमा ठुलो उपलब्धि हासिल गर्न सक्छ । यदि उद्योगहरूलाई सस्तो र सुलभ विद्युत् उपलब्ध गराउन सकियो भने उत्पादन लागत घट्नेछ र नेपाली वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्नेछन् ।

नेपालको भौगोलिक विविधता पनि उत्पादन वृद्धि र निर्यात विस्तारका लागि महŒवपूर्ण अवसर हो । समुद्री सतहदेखि हिमाली क्षेत्रसम्म फैलिएको भूगोलले कृषि, जडीबुटी, पर्यटन र ऊर्जा क्षेत्रमा विविध सम्भावना सिर्जना गरेको छ । यिनै स्रोतहरूको वैज्ञानिक उपयोग र मूल्य अभिवृद्धिमार्फत निर्यात वृद्धि गर्न सकिन्छ ।

यद्यपि, निर्यात वृद्धि केवल उत्पादनसँग मात्र सम्बन्धित छैन । यसका लागि नीतिगत सुधार, व्यापार विविधीकरण, नयाँ बजारको खोजी र लगानी सुरक्षाको ग्यारेन्टी आवश्यक छ । वर्तमान अवस्थामा राजनीतिक अस्थिरता, दक्ष जनशक्तिको विदेश पलायन, लगानीमैत्री वातावरणको अभाव र प्रविधिको सीमित प्रयोग प्रमुख चुनौतीका रूपमा रहेका छन् । यी समस्या समाधान नगरी निर्यात वृद्धि सम्भव छैन ।

सरकारले दीर्घकालीन योजना बनाएर औद्योगिक विकास, प्रविधि विस्तार, कर्जा सहजता र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ । उद्योगमैत्री वातावरण सिर्जना भएमा निजी क्षेत्रले उत्पादन र रोजगारी सिर्जनामा महŒवपूर्ण भूमिका खेल्न सक्छ । नेपालमै पर्याप्त रोजगारी सिर्जना गर्न सकेमा युवाहरूको विदेश पलायन रोक्न सकिन्छ र देशभित्रै आय आर्जनको अवसर बढ्छ ।

आयात घटाउँदै स्वदेशी उत्पादन बढाएर रोजगारी सिर्जना गर्नु नै समृद्ध र आत्मनिर्भर नेपाल निर्माणको आधार हो

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने अर्को महŒवपूर्ण पक्ष खनिज तथा प्राकृतिक स्रोतहरूको उपयोग हो । नेपालमा फलाम, सुन, कोइला, पेट्रोलियम, रत्न तथा अन्य खनिज पदार्थको सम्भावना रहेको छ । यिनको व्यवस्थित उत्खनन र प्रशोधनमार्फत निर्यात बढाउन सकिन्छ । सिमेन्ट उद्योगको सफलताले नेपालमा उत्पादन र निर्यात दुवै सम्भव छ भन्ने प्रमाणित गरिसकेको छ ।

त्यसैगरी, कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापन पनि उत्तिकै महŒवपूर्ण छ । खुला सीमाको व्यवस्थापन, पारवहन समस्याको समाधान, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सरकार सक्रिय हुनुपर्छ । निर्यातयोग्य वस्तुको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय मापदण्ड पालन र व्यापारीहरूको क्षमता अभिवृद्धि पनि आवश्यक छ । अब ‘सुनको कचौरामा भिख माग्ने’ अवस्थाबाट बाहिर निस्केर नेपाल आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्छ । यसका लागि नीतिगत स्थिरता, सुशासन, उद्योगमैत्री वातावरण र प्रभावकारी कार्यान्वयन अपरिहार्य छन् । सरकार, निजी क्षेत्र र समग्र समाजको संयुक्त प्रयासबाट मात्र आर्थिक रूपान्तरण सम्भव छ ।

उत्पादन वृद्धि र निर्यात प्रवद्र्धन नै नेपालको आर्थिक समृद्धिको प्रमुख आधार हो । यदि सरकार स्पष्ट रणनीति, प्रभावकारी कार्यान्वयन र निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न सकेमा नेपाललाई समृद्ध, आत्मनिर्भर र निर्यातमुखी राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ । अबको समय अवसरलाई उपयोग गर्ने हो ढिलाइ गर्ने होइन ।

दीपककुमार मल्होत्रा, वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स