स्मृतिदेखि समृद्धिसम्म चेम्बर आर्थिक रूपान्तरणको यात्रा

छिमेकी राष्ट्रहरूले जति तीव्र गतिमा आर्थिक प्रगति गरेका छन्, त्यसको तुलनामा हामी पछाडि परेको यथार्थलाई स्वीकार्नैपर्छ

नेपाल चेम्बर अफ कमर्स केवल एउटा संस्था मात्र होइन, धेरैका लागि यो भावना, इतिहास र प्रेरणाको प्रतीक हो । मेरो व्यक्तिगत जीवनमा त यसले अझ गहिरो अर्थ बोकेको छ । चेम्बर सम्झिँदा सबैभन्दा पहिले मेरो स्वर्गीय बुवाको अनुहार आँखाअगाडि आउँछ । उहाँको जीवनको ठूलो हिस्सा चेम्बरसँगै बित्यो कार्यसमिति सदस्यदेखि महासचिव हुँदै अध्यक्षसम्मको यात्राले उहाँलाई मात्र होइन, हाम्रो परिवारलाई पनि एउटा विशेष पहिचान दियो ।

हाम्रो घरमा चेम्बर कुनै संस्था होइन, एक भावनात्मक सम्बन्ध हो । आज पनि घरमा चेम्बरको कुरा उठ्दा केवल औपचारिक चर्चा मात्र हुँदैन, त्यो एक प्रकारको सम्झना, गर्व र प्रेरणाको विषय बन्छ । मेरो बच्चासम्मले पनि चेम्बरलाई एउटा विशेष मूल्यका रूपमा बुझ्न थालेका छन् । यसरी एउटा संस्थाले पुस्तौँपुस्ता जोड्ने भावनात्मक सेतु निर्माण गर्न सक्नु आफैँमा ठूलो उपलब्धि हो ।

स्टार्टअपको सन्दर्भमा यस्तै चुनौती देखिन्छन्, सरकारले अहिले २० लाख रुपैयाँसम्मको ऋण सुविधा दिएको छ, जुन स्वागतयोग्य कदम हो

बुवाको कार्यकालका अनेक घटनाहरू स्मृतिमा ताजै छन् । विशेषगरी मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने बेलामा चेम्बरले उठाएको आवाज, त्यसबेलाका आन्दोलन, बहस र सरकारसँगको संवाद अझै सम्झनामा छन् । त्यो केवल विरोध मात्र थिएन, त्यो व्यवसायीहरूको हकहित र आर्थिक स्थायित्वका लागि गरिएको संघर्ष थियो । स्वदेश र विदेशमा भएका प्रतिनिधिमण्डलका भ्रमणहरू, मन्त्रालयहरूमा गरिएका लबिङहरू यी सबैले एउटा कुरा प्रस्ट देखाउँछन निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो ।

यद्यपि, विगतका ती प्रयासहरूको बाबजुद पनि हामीले आजको दिनमा आफैँलाई तुलना गर्दा केही कमीहरू महसुस गर्न‘पर्छ । हाम्रा छिमेकी राष्ट्रहरूले जति तीव्र गतिमा आर्थिक प्रगति गरेका छन्, त्यसको तुलनामा हामी पछाडि परेको यथार्थलाई स्वीकार्नैपर्छ । यसको कारण केवल एउटा पक्षमा सीमित छैन । सरकारी नीति, कार्यान्वयनको कमजोरी, अस्थिर राजनीतिक अवस्था, र हाम्रो कार्यसंस्कृतिमा रहेका चुनौतीहरू सबैले यसमा भूमिका खेलेका छन् ।

नेपालको बजार सानो हुनु पनि एउटा चुनौती हो । तर त्यो नै सबैभन्दा ठूलो कारण होइन । मुख्य समस्या भनेको नीतिगत अस्थिरता हो । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले दीर्घकालीन लगानी र विकासलाई अवरुद्ध गरेको छ । दिगो आर्थिक विकासका लागि आवश्यक छ नीतिको निरन्तरता । चाहे जुनसुकै सरकार आए पनि, आर्थिक विकाससँग सम्बन्धित आधारभूत नीतिहरू स्थिर रहनुपर्छ । यसले मात्र लगानीकर्तालाई विश्वास दिलाउन सक्छ र आर्थिक गतिविधिलाई गति दिन सक्छ ।

स्टार्टअपको सन्दर्भमा हेर्दा पनि यस्तै चुनौतीहरू देखिन्छन् । सरकारले अहिले २० लाख रुपैयाँसम्मको ऋण सुविधा दिएको छ, जुन स्वागतयोग्य कदम हो । तर सबै स्टार्टअपका लागि यो पर्याप्त हुँदैन । केहीका लागि यो रकम धेरै हुन सक्छ भने केहीका लागि अत्यन्तै न्यून । त्यसैले स्टार्टअपहरूलाई वर्गीकरण गरेर आवश्यकताअनुसार लगानी गर्ने नीति आवश्यक छ ।
स्टार्टअप भनेको एकैपटक लगानी गरेर तुरुन्त नाफा आउने क्षेत्र होइन । धेरैजसो स्टार्टअपहरूलाई सुरुका एक–दुई वर्षसम्म निरन्तर लगानी आवश्यक पर्छ । ट्रेडिङ व्यवसायभन्दा फरक, उत्पादन वा सेवा आधारित स्टार्टअपहरूमा प्रतिफल आउन समय लाग्छ । त्यसैले सरकारले क्रमिक लगानीको व्यवस्था गर्न‘पर्छ । यसले मात्र स्टार्टअपहरूको वास्तविक विकास सम्भव हुन्छ ।
महिला उद्यमशीलताको क्षेत्रमा पनि केही सकारात्मक परिवर्तनहरू देखिएका छन् । आज महिलाहरू व्यवसायमा सक्रिय छन्, नेतृत्वमा छन् । तर अन्तर्राष्ट्रिय स्तरमा हेर्दा अझै धेरै काम गर्न बाँकी छ । हाम्रा आमा–हजुरआमाको तुलनामा अहिलेको अवस्था राम्रो भए पनि, विश्वस्तरमा प्रतिस्पर्धा गर्न अझै सशक्त बनाउनुपर्ने आवश्यकता छ ।

यसका लागि केवल तालिम मात्र पर्याप्त हुँदैन । सीप विकाससँगै बजारको पहुँच, ब्रान्डिङ, र मार्केटिङ पनि उत्तिकै महत्वपूर्ण हुन्छ । महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नका लागि सरकारी लगानी आवश्यक छ । ‘मार्केट मेकर’ र ‘ब्रान्ड इमेजिङ’मा ध्यान दिन सके मात्र महिला उद्यमशीलता सशक्त बन्न सक्छ ।

विकासको मेरुदण्ड भनेकै आर्थिक गतिविधि हो, र त्यसलाई सशक्त बनाउन सामूहिक प्रयास अपरिहार्य छ

चेम्बरको ७५ वर्षको इतिहास आफैँमा एउटा प्रेरणादायी यात्रा हो । यस अवसरमा ऐतिहासिक व्यक्तित्वहरूको सम्मान गर्ने निर्णय अत्यन्तै सार्थक थियो । किनभने आज हामी जहाँ छौँ, त्यो अघिल्लो पुस्ताको त्याग, संघर्ष र समर्पणकै परिणाम हो । नीहरूले गरेको मेहनतका कारण हामीले त्यो स्तरको संघर्ष गर्न‘ परेन । त्यसैले उनीहरूको सम्मान गर्न‘ हाम्रो कर्तव्य पनि हो । विकासको सन्दर्भमा अर्को महत्वपूर्ण विषय बजेट वितरण हो । नेपालमा प्राय: ‘कनिका छर्ने’ शैलीको बजेट आउने गरेको छ थोरै–थोरै रकम धेरै ठाउँमा बाँड्ने। यसले देखावटी सन्तुलन त दिन्छ, तर दिगो विकास भने गर्दैन । बरु ठूला र प्रभावकारी परियोजनामा केन्द्रित भएर लगानी गर्न‘पर्छ । एक–दुई अर्बका ठूला परियोजनाहरूले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छन् ।

सरकारले आफ्नो कार्यकाल हेरेर होइन, देशको दीर्घकालीन हितलाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्छ । रोजगारी सिर्जना, आर्थिक गतिविधिको विस्तार, र समग्र अर्थतन्त्रको सुधारलाई प्राथमिकता दिनुपर्छ । यसले मात्र देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सक्छ । आर्थिक विकास कुनै एक पक्षको जिम्मेवारी होइन ।

सरकार, निजी क्षेत्र, र समाज सबैले मिलेर काम गर्न‘पर्छ । महिला होस् वा पुरुष, युवा होस् वा अनुभवी सबैको सहभागिता आवश्यक छ । विकासको मेरुदण्ड भनेकै आर्थिक गतिविधि हो, र त्यसलाई सशक्त बनाउन सामूहिक प्रयास अपरिहार्य छ । मेरो लागि चेम्बर केवल विगतको सम्झना होइन, भविष्यको आशा पनि हो । बुवाको योगदानले दिएको प्रेरणा आज पनि जिउँदो छ । त्यो प्रेरणाले मलाई मात्र होइन, नयाँ पुस्तालाई पनि देशको आर्थिक विकासमा योगदान गर्न उत्प्रेरित गरिरहेको छ । यही भावनासहित, हामीले विगतको सम्मान गर्दै भविष्यतर्फ दृढतापूर्वक अघि बढ्नुपर्छ ।

उर्मिला श्रेष्ठ, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स