साताको तेस्रो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेन्जमा आबद्ध कम्पनीको खरिदबिक्रि मापन नेप्से घटेको छ।
आज नेप्से २.९५ अंकले घट्दै २८०४.१७ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१० प्रतिशतले कम हो। आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.६५ अंकले बढेर ४७१.२२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१३ प्रतिशतले बढी हो।
शेयरबजारमा आज बुधबार ३४२ कम्पनीको एक लाख २१ हजार ४३३ पटकको कारोबारमा एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर किनबेच भए। जसअनुसार ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको कारोबार भयो। सोमबार पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको थियो भने हजिो मंगलबार ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १२१ कम्पनीको शेयरमूल्य बढ्यो। १३८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा पाँच समूहको उपसूचक बढे भने बाँकी आठ समूहका सूचक ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
जसअनुसार आज बुधबार वाणिज्य बैंक समूहको सूचक ०.१२ प्रतिशतले बढ्दा विकास बैंक ०.२७ प्रतिशतले घट्यो। यसैगरी फाइनान्स ०.५८ प्रतिशतले बढ्यो। होटेल तथा पर्यटन समूहको सूचक २.३६ प्रतिशत र जलविद्युत् समूहको सूचक ०.०६ प्रतिशतले घट्यो। यस्तै लगानी समूहको सूचक ०.०९ प्रतिशतले बढ्यो भने जीवन बिमा समूहको सूचक ०.२५ प्रतिशतले घट्यो।
यसैगरी उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशतले बढ्दा लघुवित्त ०.१५ र म्युचुअल फन्ड ०.४० प्रतिशतले घट्यो। यस्तै निर्जीवन बिमा समूहको सूचक ०.३८ प्रतिशतले बढ्यो। अन्य ०.०३ र व्यापार समूहको उपसूचक १.१० प्रतिशतले ओरालो लागे।
नेप्सेमा बुधबार पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। अर्थात पाल्पा सिमेन्टका लगानीकर्ताले सेयरमूल्यमा १५ प्रतिशतले आम्दानी गरे। यसैगरी होटेल फरेस्ट इन लिमिटेडको सेयरमूल्य १०.७५ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको ४१ करोड ३४ लाख ७८ हजार ३८० रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको शेयर बुधबार १३ लाख ५९ हजार ११६ कित्ता किनबेच भयो।
नेसनलको सोमबार भने नौ लाख ३८ हजार १२७ कित्ता किनबेच भएको थियो। मंगलबार सात लाख ७७ हजार ३७३ कित्ता किनबेच भएको थियो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३१० रुपैयाँ कायम रह्यो।
