पर्यटन प्रवद्र्धनबाट समृद्धिको बाटो

नेपालको पर्यटन इतिहास सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्मिश्रण हो, जसले देशलाई विश्व पर्यटन नक्सामा विशिष्ट पहिचान दिलाएको छ

नेपालको पर्यटन इतिहास केवल प्राकृतिक सौन्दर्यको कथा मात्र होइन, सांस्कृतिक, ऐतिहासिक र सामाजिक रूपान्तरणसँग गाँसिएको एक समृद्ध यात्राको अभिलेख हो । प्राचीन आख्यानहरूदेखि आधुनिक पर्वतारोहणसम्म आइपुग्दा नेपालले विश्व पर्यटन नक्सामा आफ्नो विशिष्ट पहिचान बनाएको छ । मञ्जुश्रीले काठमाडौँ उपत्यकालाई मानव बस्तीका लागि उपयुक्त बनाएको किंवदन्तीदेखि भृकुटीको वैवाहिक सम्बन्धमार्फत अन्तर्राष्ट्रिय सम्पर्क विस्तारसम्मका घटनाले नेपालको प्रारम्भिक अन्तर्राष्ट्रिय सम्बन्ध र आवागमनको संकेत दिन्छन् । यिनै ऐतिहासिक आधारहरूले नेपाललाई एक सांस्कृतिक पुलका रूपमा स्थापित गरेका छन् ।

आधुनिक पर्यटनको सन्दर्भमा भने सन् १९५० को दशकपछि नेपालले विश्वको ध्यान खिच्न थाल्यो । अन्नपूर्ण हिमाल आरोहण र त्यसपछि सगरमाथा विजयले नेपाललाई विश्वभर परिचित गरायो । यी उपलब्धिले केवल साहसिक पर्यटनको ढोका मात्र खोलेनन्, बरु नेपाललाई हिमालको देशका रूपमा स्थापित गरे । त्यसपछि होटेल, ट्राभल प्याकेज, वन्यजन्तु पर्यटनजस्ता विविध पक्ष विकास हुँदै गए, जसले नेपालको पर्यटन उद्योगलाई क्रमश: संस्थागत र व्यावसायिक बनायो ।

१९६० र ७० को दशकमा नेपालले ‘हिप्पी युग’को अनुभव गर्‍यो, जसले पर्यटनको स्वरूपलाई फरक ढंगले प्रभावित गर्‍यो । युरोप र अमेरिकाबाट आएका युवाहरूले स्वतन्त्रता, शान्ति र नयाँ अनुभवको खोजीमा नेपाललाई गन्तव्य बनाएका थिए । काठमाडौँका विभिन्न क्षेत्रहरू उनीहरूको गतिविधिको केन्द्र बने । यद्यपि, उनीहरूको खर्च गर्ने क्षमता सीमित थियो, तथापि उनीहरूको उपस्थितिले नेपाललाई विश्व पर्यटन नक्सामा थप परिचित गरायो । यसले पर्यटनको सम्भावनालाई फराकिलो बनायो, यद्यपि यसको व्यवस्थापन र नियमनको आवश्यकता पनि त्यत्तिकै महसुस गरियो ।

परम्परागत आकर्षणसँगै पर्यटन विविधीकरण, नीतिगत सुधार र सेवा गुणस्तर अभिवृद्धिबाट मात्र नेपालले दिगो आर्थिक लाभ हासिल गर्न सक्छ

समयक्रमसँगै नेपालले आफ्नो पर्यटन पहिचानलाई पर्वतारोहण, ट्रेकिङ, सांस्कृतिक भ्रमण र धार्मिक पर्यटनमा केन्द्रित गर्‍यो । तर, आजको बदलिँदो विश्व सन्दर्भमा केवल परम्परागत पर्यटनले मात्र आर्थिक लक्ष्य हासिल गर्न पर्याप्त देखिँदैन । विश्वका विभिन्न देशले पर्यटनलाई विविधीकरण गर्दै नयाँ–नयाँ क्षेत्रहरूमा विस्तार गरेका छन् । यस सन्दर्भमा नेपालले पनि आफ्नो पर्यटन नीतिमा नवीन सोच र व्यावहारिक दृष्टिकोण अपनाउन आवश्यक छ ।

पर्यटन विकासका लागि सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । नीतिगत स्पष्टता, कार्यान्वयनको दृढता र दीर्घकालीन योजनाविना पर्यटन क्षेत्रले अपेक्षित परिणाम दिन सक्दैन । पर्यटकहरूको मुख्य प्रवेशद्वारका रूपमा रहेको काठमाडौँको सहरी व्यवस्थापन, विशेषत: ठमेलजस्ता क्षेत्रहरूको पूर्वाधार सुधार, सुरक्षा र सेवाको गुणस्तर अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटकले पहिलो अनुभव गर्ने स्थानको गुणस्तरले समग्र देशको छवि निर्माणमा ठुलो प्रभाव पार्छ ।

पर्यटन क्षेत्र रोजगारी सिर्जनाको महŒवपूर्ण माध्यम हो । एकजना विदेशी पर्यटकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिन सक्छ भन्ने मान्यता स्थापित हुँदै आएको छ । यसैले पर्यटक आगमन बढाउनु मात्र पर्याप्त हुँदैन, उनीहरूको बसाइ अवधि, खर्च गर्ने क्षमता र अनुभवलाई पनि गुणस्तरीय बनाउनु आवश्यक हुन्छ । तथ्यांकमा मात्र वृद्धि देखाएर होइन, वास्तविक विदेशी पर्यटकको आगमन र उनीहरूको प्राथमिकताअनुसार योजना बनाउनु समयको माग हो ।

यद्यपि, पर्यटन विकाससँगै केही नकारात्मक प्रवृत्तिहरू पनि देखिएका छन् । पर्यटकलाई अस्वस्थ खाद्य पदार्थ खुवाउने, अनावश्यक रूपमा महँगो उपचारमा लग्ने वा बिमा प्रणालीको दुरुपयोग गर्नेजस्ता गतिविधिले नेपालको छविमा नकारात्मक असर पार्न सक्छ । यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारको कडाइ र व्यवसायीहरूको नैतिक जिम्मेवारी दुवै आवश्यक छन् । स्वच्छ, पारदर्शी र उत्तरदायी पर्यटन व्यवसायले मात्र दीर्घकालीन सफलता सुनिश्चित गर्न सक्छ ।

पर्यटनको विविधीकरणको सन्दर्भमा विश्वका केही देशहरूले विशेष प्रकारका पर्यटनलाई नियमनसहित विकास गरेका छन् । यसले आर्थिक लाभका नयाँ सम्भावना खोल्ने गरेको देखिन्छ । नेपालमा पनि नीतिगत स्पष्टता, कानुनी संरचना र सामाजिक सहमतिका आधारमा नयाँ पर्यटन आयामहरूको सम्भावना अध्ययन गर्न सकिन्छ । तर, यस्ता संवेदनशील विषयहरूमा हतारो निर्णयभन्दा गहिरो अध्ययन, बहस र चरणबद्ध कार्यान्वयन आवश्यक हुन्छ । समाजको मूल्य–मान्यता, सांस्कृतिक संवेदनशीलता र कानुनी दायित्वलाई ध्यानमा राख्दै मात्र यस्ता क्षेत्रहरूमा अघि बढ्न सकिन्छ ।

नेपालको भौगोलिक र सांस्कृतिक विविधता पर्यटनका लागि ठुलो सम्पत्ति हो । हिमाल, पहाड र तराईका फरक–फरक विशेषताले वर्षभरि पर्यटन सञ्चालन गर्न सकिने सम्भावना प्रदान गर्छन् । साहसिक पर्यटन, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई समन्वय गर्दै समग्र पर्यटन रणनीति तयार गर्न सकिन्छ । यसका लागि पूर्वाधार विकास, यातायात सुविधा, सूचना प्रवाह र सेवा गुणस्तरमा सुधार आवश्यक छ ।

सरकार–निजी क्षेत्र सहकार्य, पूर्वाधार विकास, डिजिटल प्रवद्र्धन र उत्तरदायी व्यवस्थापनमार्फत नेपालले पर्यटन क्षेत्रलाई दिगो, समावेशी र प्रतिस्पर्धी बनाउन सक्छ

डिजिटल प्रविधिको प्रयोगले पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको छ । अनलाइन प्लेटफर्म, डिजिटल मार्केटिङ र सूचना प्रवाहले नेपाललाई विश्व बजारमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ । साथै, पर्यटन व्यवस्थापनमा प्रविधिको प्रयोगले पारदर्शिता र दक्षता बढाउँछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको यस युगमा नेपालले आफ्नो विशेषता कायम राख्दै नयाँ सम्भावना खोज्नुपर्छ । अन्य देशहरूले अपनाएका सफल अभ्यासहरूबाट सिक्दै, तर आफ्नै सामाजिक–सांस्कृतिक सन्दर्भअनुसार नीति निर्माण गर्नु आवश्यक हुन्छ । निजी क्षेत्र र सरकारबिचको सहकार्यले मात्र पर्यटन क्षेत्रलाई दिगो र प्रभावकारी बनाउन सक्छ ।

समग्रमा, नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिको महŒवपूर्ण आधार बन्न सक्छ, यदि यसलाई योजनाबद्ध, विविधीकृत र उत्तरदायी ढंगले विकास गर्न सकियो भने । परम्परागत आकर्षणसँगै नयाँ सम्भावनाहरूको खोजी, नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमार्फत नेपालले पर्यटन क्षेत्रबाट अधिकतम लाभ लिन सक्छ ।

पर्यटन केवल आर्थिक क्रियाकलाप मात्र होइन, यो देशको पहिचान, संस्कृति र आतिथ्यताको प्रतिबिम्ब पनि हो । त्यसैले यसको विकासमा सन्तुलन, संवेदनशीलता र दूरदर्शिता आवश्यक हुन्छ । जब पर्यटन क्षेत्रलाई समग्र राष्ट्रिय विकाससँग जोडेर अघि बढाइन्छ, तब मात्र यसले दीर्घकालीन आर्थिक समृद्धि र सामाजिक सन्तुलन सुनिश्चित गर्न सक्छ ।

सुरेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स