आज मेको पहिलो आइतबार विश्व हाँसो दिवस

आज मे महिनाको पहिलो आइतबार हो । आजको दिन विश्वभर हाँसो दिवस मनाईदैछ ।
सबैलाई थाहा छ कि हाँस्दा राम्रो लाग्छ, तर यी सरल हाँसोहरू हाम्रो दैनिक जीवन र सोच सुधार गर्न कत्तिको मूल्यवान् हुन सक्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ।

हुन त हाँसोले कुनै पनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत गर्न सक्छ।
विश्व हाँसो दिवस मा यस्तै हाँसो सम्बन्धी कुराहरूलाई चर्चा गरिन्छ ।

मेमा मनाइने यस दिवसको प्रथम पटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भ्रातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौँ अनि हरेक हाँसोमा बाँच्न नभुलौँ ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुसी छाइरहोस् । खुसीको खोजी जारी रहोस् ।

हेरिदिने कोही छ भनेँ पिरमा पनि फुलिदिन्छु

एउटा सानो फिरफिरे पाउँदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौँ रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसँग भेट्न पाउँदा एउटी आमा हाँस्दछिन्, करोडौँले पनि खरिद गर्न नसक्ने अर्को हाँसो ।

विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो 

अनि लाखौँ, करोडौँ बैङ्क ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाउँदछ । महाकविले लेखेकै छन् ।

गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि

यो एउटा वाक्यांशले हाँसो को अपार व्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको बोट मुनी सुस्ताउँदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौँको हाँसो । हाँसोको यो समीकरणमा उदाहरण सदैव आउँदछ कमलको फुलको अनि गुलाफको फुलको ।
चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराउँछ नै, हाँस्छ नै । नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौँ ।फाँटहरूले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु ।

हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस हुन जरुरी छ। फाँटहरूले मात्र कहाँ पुग्छ र ? भीरहरुमा पनि हाँस्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफूलाई नै प्रश्न गरौँ हाम्रो जीवनमा हाँसोहरू कति उधारो राखेका छौँ भनेर रु हाँस्न नभुलौँ है । दिल खोलेर हाँसौँ, हँसाउन सकौँ ।

शुभकामना