निजी क्षेत्रको हितमा परिणाममुखी काम गर्छु : अध्यक्ष अन्जन श्रेष्ठ

Anjan-Shrestha.jpg अन्जन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ ले आफ्नो कार्यकालमा महासंघको संस्थागत साख, विश्वसनीयता र प्रभावलाई अझ मजबुत बनाउँदै निजी क्षेत्रको हितमा परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सपथ तथा पदभार ग्रहणपछि आयोजित नवनिर्वाचित पदाधिकारीहरूसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा विशेष सम्बोधन गर्दै उनले वर्तमान आर्थिक तथा व्यावसायिक चुनौतीपूर्ण अवस्थाबीच महासंघको गरिमा र प्रतिष्ठा कुनै पनि हालतमा कमजोर हुन नदिने सन्देश दिएका हुन्।

उनले तीन वर्षअघि वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुँदा गरेका प्रतिबद्धताहरूलाई स्मरण गर्दै ती प्रतिवद्धताप्रति आफू अझै दृढ रहेको बताए। महासंघको नेतृत्वमा रहँदा निजी क्षेत्रका साझा समस्या समाधान, व्यवसायिक वातावरण सुधार, लगानी प्रवर्द्धन र नीतिगत सुधारका लागि सक्रिय रूपमा काम गर्ने उनको प्रतिबद्धता रहेको छ।

अध्यक्ष श्रेष्ठले आगामी कार्यकालका लागि महासंघले अघि बढाउने विभिन्न योजनाको खाका पनि प्रस्तुत गर्दै उद्योग, व्यापार, लगानी, निर्यात विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिने बताए। उनले निजी क्षेत्रलाई आर्थिक विकासको मुख्य साझेदारका रूपमा स्थापित गर्दै सरकारसँग सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाइने धारणा राखे।

दुई तिहाइको बलियो सरकार गठन भएको वर्तमान राजनीतिक परिवेशलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै उनले नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र आर्थिक सुधारका लागि निजी क्षेत्रले सरकारसँग मिलेर बढीभन्दा बढी लाभ लिन सक्ने विश्वास व्यक्त गरे।

उनले महासंघलाई केवल व्यवसायीहरूको प्रतिनिधि संस्था मात्र नभई मुलुकको आर्थिक विकास, रोजगारी विस्तार र लगानीमैत्री वातावरण निर्माणको प्रभावकारी संस्थाका रूपमा थप सशक्त बनाउने लक्ष्यसहित अघि बढ्ने बताए।