पोखरामा स्टार्टअप प्रवर्द्धनका लागि तालिम, सिड मनी र बिजनेस क्लिनिक : मेयर आचार्य

  • Clock icon
    २०८३ कार्तिक २०, शुक्रबार

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवीन सोच र सिर्जनात्मक विचारलाई व्यवसायमा रूपान्तरण गर्दै रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। स्टार्टअप व्यक्तिगत रोजगारी खोज्ने माध्यम मात्र नभई अरूलाई समेत रोजगारी दिने उद्यम विकासको प्रक्रिया भएको उनको भनाइ छ।

स्टार्टअप समिट नेपाल २०२६ को पोखरामा आयोजित कार्यक्रममा बोल्दै मेयर आचार्यले युवाले आफ्ना नयाँ विचारलाई व्यावसायिक स्वरूप दिन सक्नुपर्ने बताए। उनले विद्यार्थीलाई अध्ययन पूरा भएपछि विदेश जाने योजनालाई मात्र प्राथमिकता नदिन आग्रह गर्दै स्वदेशमै व्यवसाय सुरु गरेर रोजगारी सिर्जना गर्ने सोच विकास गर्न सुझाव दिए।

पोखरा महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत उद्यमशीलता विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले व्यवसाय गर्न चाहनेलाई तालिम, सुरुवाती पुँजी अर्थात् सिड मनी र व्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्या समाधानका लागि बिजनेस क्लिनिकमार्फत परामर्श तथा सहजीकरण गर्दै आएको बताए।

‘स्टार्टअप भनेको आफैँले जागिर खोज्ने माध्यम मात्र होइन, अरूलाई पनि रोजगारी दिने उद्यम विकास गर्ने प्रक्रिया हो,’ उनले भने।

उनले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन र सम्भावनालाई पहिचान गरी नवीन सोचलाई व्यवसायसँग जोड्न सके आर्थिक गतिविधि विस्तार हुने धारणा राखे।

स्टार्टअप विकासका लागि स्थानीय सरकारको सहयोगसँगै युवाको इच्छाशक्ति, व्यावसायिक योजना र निरन्तरता पनि आवश्यक हुने उनको भनाइ थियो। युवाले आफ्नै ठाउँमा सम्भावना खोजेर उद्यम सञ्चालन गर्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने उनले बताए।

  • Clock icon
    २०८३ कार्तिक २०, शुक्रबार