काठमाडौँको विराटनगरसँग ९ विकेटको जित

विराटनगर किंग्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ।

बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो। योसँगै काठमाडौले अंक तालिकामा ४ अंक जोडेको छ।

पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याकसलाई चार विकेटले हराएको थियो।

दोस्रो जित हात पारेपछि काठमाडौंसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान चार अंक छ।

लुम्बिनीको सात अंक छ। तीन खेलमा हार भोगेको पोखरा तालिकाको पुछारमा छ। चितवनको तीन अंक छ।

विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाडौले ९.४ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।

दोस्रो विकेटका लागि डेविड वार्नर र विलियम वसिस्टोले ६९ रनको अविजित साझेदारी गरेपछि काठमाडौंले सहज जित निकाल्यो। वार्नर ४४ र वसिस्टो २३ रनमा अपराजित रहे।

वार्नरले २४ बलमा २ चौका र ३ छक्का हाने। वसिस्टोले २४ बलमा ३ चौका मद्दतमा २३ रन बनाए। ओपनर साहिल पटेल १० रन बनाउँदा अपराजित पौडेलको बलमा बोल्ड आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमा अलआउट भयो।

जारी सिजन बनेको यो सर्वाधिक कम योगफल हो। यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्सविरुद्ध ८७ रनमा अलआउट भएको थियो।

विराटनगर एक समय ९.४ ओभरमा ७-३५ को संकटपूर्ण अवस्थामा थियो। लगातार विकेट पतनपछि सम्हालिन नसकेको विराटगरका लागि आठौं विकेटका लागि एन्जेलो म्याथुज र रुपेश सिंहले ३९ रनको साझेदारी गरेपछि सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।

विराटनगरका लागि तीन ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। रुपेश सिंहले सर्वाधिक २६ रनको योगदान दिए।

एन्जेलो म्याथुजले २२ रन थपे। बसिर अहमदले १० रन बनाए। लोकेश बम ६, सेहान जयसूर्या पाँच र आन्द्रे रसेल तीन रनमा नै पेभेलियन फर्के। इमरान शेख, नारायण जोशी र शुभम रजाने शून्मै आउट भए।

काठमाडौंका लागि सन्तोष यादवले तीन विकेट लिए। करण केसी र सहानले समान दुई विकेट लिए। जहानदाद खान, साहब आलम र देव शाहको नाममा समान एक विकेट रह्यो।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा छ।

एनपीएलमा शुक्रबार दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्नेछन्। यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्ने तालिका छ। यो खेल साँझ ५ बजे सुरु हुनेछ।