पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप समिट नेपाल २०२६ को महाअभियान

पोखरा । व्यवसाय गर्ने इच्छा र नयाँ सोच भएर पनि कसरी सुरु गर्ने, लगानी कहाँबाट जुटाउने, व्यवसाय सफल होला कि नहोला, सुरु गरेपछि टिकाउन सकिएला कि नसकिएला, बैंकबाट ऋण पाइएला कि नपाइएला भन्ने अन्योलले धेरै युवालाई उद्यमशीलताको यात्रामा अघि बढ्नबाट रोकिरहेको छ। अर्कोतर्फ, अध्ययन पूरा हुनासाथ विदेश जाने सपना देख्ने युवाको संख्या बढ्दै जाँदा स्वदेशमै उपलब्ध सम्भावना, स्रोतसाधन र जनशक्तिको उपयोग कसरी गर्ने भन्ने प्रश्न पनि गम्भीर बन्दै गएको छ। यही अवस्थालाई बदल्दै नेपाली युवालाई आफ्नै माटोमा सम्भावना खोज्न, उत्पादन गर्न, उद्यम सञ्चालन गर्न र अरूलाई समेत रोजगारी दिन सक्षम बनाउने उद्देश्यसहित पोखराबाट ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान सुरु गरिएको छ।

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने मूल सन्देशसहित स्टार्ट अप समिट नेपाल २०२६ ले बुधबार पोखरामा आयोजना गरेको समिटले उद्यमशीलतालाई केवल व्यवसाय सुरु गर्ने विषयका रूपमा मात्र नभई आत्मनिर्भर अर्थतन्त्र निर्माण, युवा पलायन न्यूनीकरण र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने राष्ट्रिय अभियानका रूपमा अघि सारेको छ। कार्यक्रमको मुख्य उद्देश्य नेपालका सातवटै प्रदेशमा पुगेर त्यहाँको भौगोलिक अवस्था, प्राकृतिक स्रोतसाधन, बजार, जनशक्ति र स्थानीय आवश्यकताअनुसार कुन क्षेत्रमा कस्ता स्टार्टअप तथा उद्यम सञ्चालन गर्न सकिन्छ भन्ने सम्भावना पहिचान गर्नु हो।

कार्यक्रमको पुरा भिडियो :=08NPdPC1huY

विशेषगरी काठमाडौं केन्द्रित विकास, लगानी र अवसरलाई प्रदेश हुँदै जिल्ला, नगरपालिका, गाउँपालिका र स्थानीय तहसम्म विस्तार गर्ने सोचका साथ समिट आयोजना गरिएको हो। जहाँ सम्भावना छ, त्यहीँ उद्यम स्थापना गर्ने, स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने र आफ्नो ठाउँ छाडेर अवसर खोज्न बाध्य भइरहेका युवालाई आफ्नै क्षेत्रमा सम्भावना देखाउने अभियानको लक्ष्य रहेको आयोजकले जनाएको छ।

यसअघि पनि नीति रिसर्चले त्रिभुवन विश्वविद्यालय, विभिन्न विद्यालय तथा कलेजमा उद्यमशीलता र स्टार्टअपसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिसकेको छ। महिला उद्यमशीलताका अवसर, चुनौती र आगामी बाटोबारे केन्द्रित कार्यक्रमहरू पनि सम्पन्न भइसकेका छन्। त्यस्तै, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र निजी क्षेत्रका प्रतिनिधिसँग स्टार्टअपमा लगानी, वित्तीय पहुँच, बजार विस्तार र सहकार्यका विषयमा विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया गरिएको छ। ती अनुभव, सुझाव र सम्भावनालाई प्रदेशस्तरमा विस्तार गर्दै व्यवहारमा उतार्ने प्रयासस्वरूप पोखराबाट अभियान अघि बढाइएको हो।

कार्यक्रममा स्टार्टअप समिट नेपाल २०२६ कि अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्ने मानसिकताबाट बाहिर निकालेर जागिर सिर्जना गर्ने उद्यमी बनाउनु अहिलेको आवश्यकता भएको बताइन्। उनका अनुसार देश निर्माण गर्ने हुटहुटी बोकेका युवामा नयाँ सोच, सीप र काम गर्ने क्षमता भए पनि त्यसलाई व्यवसायमा रूपान्तरण गर्ने अवसर, मार्गदर्शन र लगानीको पहुँच पर्याप्त नहुँदा धेरै सम्भावना सुरुमै हराउने गरेका छन्।

‘हामीले युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउने अभियान सुरु गरेका हौँ। विदेश पलायन हुन खोजिरहेको दक्ष जनशक्तिको ज्ञान, सीप र क्षमतालाई नेपालमै उपयोग गर्न सकियो भने देशभित्रै रोजगारी र आर्थिक समृद्धिको आधार तयार गर्न सकिन्छ,’ अध्यक्ष ज्ञवालीले भनिन्।

उनले विशेषगरी विद्यालय तहदेखि नै विद्यार्थीलाई उद्यमशीलताको महत्व बुझाउनुपर्नेमा जोड दिइन्। अहिले प्लस टु अध्ययन पूरा गरेपछि अधिकांश विद्यार्थीको पहिलो रोजाइ विदेश जाने देखिएको उल्लेख गर्दै उनले उनीहरूलाई नेपालमै रहेका सम्भावना र अवसरबारे समयमै जानकारी दिन आवश्यक रहेको बताइन्।

‘आजका युवालाई विदेश नजाऊ भनेर मात्र हुँदैन, नेपालमै किन बस्ने, यहाँ के गर्न सकिन्छ र कसरी सफल हुन सकिन्छ भन्ने अवसर पनि देखाउन सक्नुपर्छ। हाम्रो प्रयास ब्रेन ड्रेनलाई ब्रेन गेनमा बदल्ने हो,’ उनले भनिन्।

अध्यक्ष ज्ञवालीका अनुसार सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्नुको अर्को महत्वपूर्ण कारण हरेक प्रदेशको सम्भावना र व्यावसायिक प्रकृति फरक हुनु हो। गण्डकी प्रदेशमा पर्यटन, आतिथ्य सेवा र स्थानीय उत्पादनमा सम्भावना रहेजस्तै अन्य प्रदेशमा कृषि, जडीबुटी, उद्योग, प्रविधि, सेवा तथा अन्य स्थानीय आवश्यकतामा आधारित उद्यमको सम्भावना हुन सक्छ। त्यसैले सबै प्रदेशमा एउटै प्रकारको व्यवसाय प्रवर्द्धन गर्नुभन्दा स्थानीय स्रोत, बजार र आवश्यकताअनुसार उद्यम विकास गर्नुपर्ने उनको भनाइ छ।

उनले कार्यक्रममार्फत व्यवसाय सुरु गर्न चाहने युवालाई व्यावसायिक योजना निर्माण, लगानीको खोजी, बैंक तथा वित्तीय संस्थासँगको पहुँच, बजार प्रवर्द्धन, ब्रान्डिङ, प्याकेजिङ, लेबलिङ र डिजिटल प्रविधिको प्रयोगबारे जानकारी गराइने बताइन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सीप र प्रविधिबारे समेत युवालाई मार्गदर्शन गर्ने समिटको योजना रहेको उनले स्पष्ट पारिन्।

‘हामीसँग उत्पादन गर्ने क्षमता छ, स्रोतसाधन छन्, सीप भएका मानिस छन्। तर उत्पादन गरेर मात्र पुग्दैन। त्यसको गुणस्तर, प्याकेजिङ, लेबलिङ, ब्रान्डिङ र बजार व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। डिजिटल प्रविधि र एआईको प्रयोग गरेर नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्न सक्नुपर्छ,’ उनले भनिन्।

महिला उद्यमशीलताको क्षेत्रमा काम गरेको आफ्नो अनुभव सुनाउँदै ज्ञवालीले महिलामा क्षमता र व्यवस्थापकीय सीपको कमी नभएको तर अवसर र उचित वातावरणको अभावले उनीहरूका सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको बताइन्। युवाको हकमा पनि उनीहरूका विचारलाई व्यवहारमा उतार्न प्रस्तावना निर्माणदेखि व्यवसाय सञ्चालनसम्म सहयोग गर्ने वातावरण आवश्यक रहेको उनको भनाइ छ।

उनले सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबीच सहकार्य बढाउनुपर्नेमा जोड दिँदै व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रिया सरल बनाउन, स्टार्टअप कर्जा सहज बनाउन, कर्जाको सीमा बढाउन र धितो नभएका तर राम्रो व्यावसायिक योजना भएका उद्यमीलाई वित्तीय पहुँच उपलब्ध गराउन आग्रह गरिन्। नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनको सुरुवात सरकारले आफ्नै निकायबाट गर्नुपर्ने उनको सुझाव थियो।

अध्यक्ष ज्ञवालीले सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न भएपछि प्रत्येक प्रदेशबाट सम्भावना बोकेका चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप तथा व्यावसायिक अवधारणा छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने योजना रहेको पनि जानकारी दिइन्। उक्त सम्मेलनमार्फत नेपाली स्टार्टअपलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग जोड्ने, प्रारम्भिक पुँजी जुटाउने र बैंकिङ साझेदारीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्टार्टअप र उद्यमशीलताको प्रवर्द्धनमा सरकारले प्रदान गर्ने सहयोगको प्रभावकारिता तथा त्यसको सदुपयोगमा ध्यान दिनुपर्ने बताए। विगतमा अनुदान वितरण भए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उनले अनुदानलाई उत्पादन र वास्तविक उपलब्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार गण्डकी प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान र समान सहभागितामा आधारित अनुदानको व्यवस्था गर्दै आएको छ। उद्योगी र किसानबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्दै प्रदेश सरकारले पुलको काम गरिरहेको उनले बताए।

स्टार्टअप गण्डकी कार्यक्रममार्फत नयाँ उद्यम सुरु गर्न चाहनेलाई सहयोग उपलब्ध गराइए पनि सुरुवाती उत्साह र प्रतिबद्धताअनुसार कतिपयले निरन्तरता दिन नसकेको मुख्यमन्त्री पाण्डेको टिप्पणी थियो।

‘कतिपय स्टार्टअपहरू कार्यक्रममा सहभागी नै भएनन्, सहभागी भएकाहरूले पनि अपेक्षाअनुसार काम गर्न सकेनन्। अनुदान वा सहयोग प्राप्त गर्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई सदुपयोग गरेर उत्पादन र रोजगारीमा परिणाम देखाउन सक्नुपर्छ,’ उनले भने।

पुरानालाई गाली गरेर मात्रै देश निर्माण नहुने भन्दै मुख्यमन्त्री पाण्डेले युवालाई नयाँ सोच, क्षमता र काम गर्ने प्रतिबद्धतासहित अगाडि आउन आग्रह गरे। अहिलेका युवाले पुरानो पुस्तालाई प्रतिस्थापन गर्ने गरी नेतृत्व लिन सक्नुपर्ने उनको भनाइ थियो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्टार्टअप देशको आवश्यकता भएको बताए। नवीन सोच र सिर्जनात्मक विचारलाई उद्यमशीलतासँग जोडेर रोजगारी सिर्जना गर्नु नै स्टार्टअपको मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे।

‘स्टार्टअप भनेको आफैँले जागिर खोज्ने माध्यम मात्र होइन, अरूलाई पनि रोजगारी दिने उद्यम विकास गर्ने प्रक्रिया हो। युवाले आफ्नो नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ,’ उनले भने।

पोखरा महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले उद्यम गर्न चाहनेलाई तालिम, सुरुवाती पुँजी अर्थात् सिड मनी तथा व्यवसाय सञ्चालनका क्रममा आइपर्ने समस्याको समाधानका लागि बिजनेस क्लिनिकमार्फत परामर्श र सहजीकरण गर्दै आएको बताए।

उनले विद्यार्थीलाई पढाइ पूरा भएपछि विदेश जाने योजनालाई मात्रै प्राथमिकता नदिन आग्रह गर्दै स्वदेशमै केही गर्ने, आफ्नै व्यवसाय सुरु गर्ने र अरूलाई रोजगारी दिने लक्ष्यका साथ अघि बढ्न सुझाव दिए।

नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले युवाको भविष्य स्टार्टअप र नवप्रवर्तनसँग जोडिएको बताए। प्रविधिको विकाससँगै नवीन सोचलाई व्यावसायिक स्वरूप दिन सके आफ्नै देशमा प्रशस्त अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो।

पाकिस्तानमा पनि स्टार्टअप तथा प्रविधिमा आधारित उद्यम विकासका अनुभव रहेको उल्लेख गर्दै उनले युवाले प्रविधि, सिर्जनशीलता र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताए। नेपाल र पाकिस्तानबीचको सहकार्यबाट पनि उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने उनको धारणा थियो। स्टार्टअप नेपाल समिटले युवालाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्य राखेकाले पाकिस्तानी राजदूतावासले समेत यस अभियानमा सहकार्य गरेको उनले बताए।

गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव आभा श्रेष्ठ कर्णले नेपालमा प्राकृतिक स्रोतसाधन र युवा जनशक्तिको ठूलो सम्भावना रहेको बताउँदै त्यसको सही उपयोग गर्न सके उद्यमशीलताको भविष्य उज्ज्वल रहेको धारणा राखिन्।

उनले युवालाई आफ्नै ठाउँमा उपलब्ध स्रोत, साधन र सम्भावनाको पहिचान गरी उत्पादन तथा रोजगारी सिर्जनामा लाग्न आग्रह गरिन्। नवीन सोच र सिर्जनशीलतालाई स्थानीय आवश्यकतासँग जोडेर व्यवसाय सञ्चालन गर्न सके आर्थिक आत्मनिर्भरताको आधार बलियो हुने उनको भनाइ थियो।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले पनि स्टार्टअप विकासका लागि वित्तीय पहुँच र व्यावसायिक योजनाको महत्वबारे धारणा राखेका थिए। नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख नारायण केसीले बैंकिङ क्षेत्रले स्टार्टअप तथा नवउद्यमीलाई उपलब्ध गराउँदै आएका वित्तीय सेवा, कर्जा सुविधा र उद्यम विकासमा बैंकको भूमिकाबारे प्रस्तुति दिएका थिए।त्यसैगरी नेपाल लघुवित्त बैंकर्स सघका अध्यक्ष रामबहादुर यादबले अब स्टार्टअप इकोसिस्टममा लाघुबित्तालाई समेत समाबेश गर्नुपर्ने जनाउदै स्टार्टअपको जुन बिना धितो ऋण भनेर प्रचारबाजी हुदैछ त्यो कुरा अङ्गीकार लाघुबित्तले पहिले नै गरिसकेको बताए । त्यसैगरी कार्यक्रममा डिजिटल प्रबिधि र मार्केटिंग तथा ब्राण्ड बारे कार्यपत्र प्रस्तुत गर्दै ओस्कार मान कतिला ले आफुले समान बनाउदा र बेच्दा मानिसको दिमागमा छाप पर्नेखालको बनाउनु पर्छ भन्दै बजार प्रबर्द्दनका बारेमा महत्वपूर्ण धारणा ब्यक्त गरेका थिए ।

उनीहरूले व्यवसाय सुरु गर्न चाहने युवाले स्पष्ट व्यावसायिक अवधारणा, प्रभावकारी प्रस्तावना र यथार्थपरक बिजनेस प्लान तयार गर्नुपर्ने बताए। राम्रो व्यावसायिक योजना, बजारको सम्भावना र ऋण तिर्न सक्ने क्षमताको मूल्याङ्कनका आधारमा धितोबिनासमेत स्टार्टअप कर्जा उपलब्ध हुन सक्ने उनीहरूको भनाइ थियो।

व्यवसाय सुरु गर्नुअघि त्यसको सम्भावित बजार, आम्दानी, खर्च, जोखिम र भविष्यको योजनाबारे स्पष्ट हुनुपर्नेमा उनीहरूले जोड दिए। बैंकको काम कर्जा उपलब्ध गराउनु मात्र नभई व्यावसायिक सम्भावना र जोखिमको मूल्याङ्कन गरेर दिगो रूपमा सञ्चालन हुन सक्ने उद्यमलाई वित्तीय सहयोग गर्नु पनि भएको उनीहरूको धारणा थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले भने स्टार्टअप सुरु गर्न चाहने युवाले भोग्नुपर्ने वास्तविक समस्या र सामाजिक सोचबारे महत्वपूर्ण प्रश्न उठाए। विद्यार्थी जोन श्रेष्ठले विदेश जाने प्रयोजनका लागि सहजै ऋण उपलब्ध हुने अवस्था भए पनि नेपालमै उद्यम गर्छु भन्दा बैंक तथा अभिभावकले विश्वास गर्ने आधार के हो भन्दै प्रश्न गरे।

उनले युवाले नयाँ सोच र व्यावसायिक योजनाका आधारमा ऋण लिएर व्यवसाय सुरु गर्दा अपेक्षाअनुसार सफल हुन नसके त्यसबाट उत्पन्न हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने जिज्ञासा राखे। व्यवसायमा जोखिम स्वाभाविक भए पनि त्यसको व्यवस्थापन र असफलताबाट पुनः उठ्ने वातावरण कसरी तयार गर्ने भन्ने विषयमा पनि उनले प्रश्न उठाए।

त्यस्तै, विद्यार्थी इस्मि श्रेष्ठले विदेश जाने इच्छा व्यक्त गर्दा अभिभावकले ऋण तथा आर्थिक सहयोग गर्ने तर स्वदेशमै व्यवसाय गर्छु भन्दा आवश्यक सहयोग गर्न हिचकिचाउने प्रवृत्तिबारे प्रश्न गरिन्। अभिभावकले धितो उपलब्ध नगराए पनि युवाको व्यावसायिक योजना र क्षमताका आधारमा बैंकले बिनाधितो कर्जा उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने उनको जिज्ञासा थियो।

विद्यार्थीका यी प्रश्नले स्टार्टअपका लागि लगानीको व्यवस्था मात्र पर्याप्त नहुने, त्यसका लागि परिवार, बैंक, समाज र राज्यको सोचमा समेत परिवर्तन आवश्यक रहेको विषयलाई उजागर गरेको थियो। युवालाई उद्यम गर्न प्रेरित गर्ने वातावरण निर्माण गर्न आर्थिक सहयोगसँगै विश्वास, परामर्श, जोखिम व्यवस्थापन र असफलतापछि पुनः प्रयास गर्न सक्ने अवसर पनि आवश्यक रहेको छलफलले देखाएको थियो।

कार्यक्रममा विद्वत् प्रवचन दिँदै इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप विकासका लागि उद्यमी, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।

उनका अनुसार धेरै लगानीकर्तासँग लगानी गर्ने क्षमता भए पनि उपयुक्त व्यावसायिक अवधारणा र सम्भावना भएका उद्यमीसम्म पुग्ने अवसर नहुन सक्छ। त्यस्तै, नयाँ व्यवसाय सुरु गर्न चाहने युवासँग नवीन सोच भए पनि त्यसलाई लगानीकर्तासमक्ष पुर्‍याउने माध्यम र व्यावसायिक प्रस्तुति तयार गर्ने अनुभवको अभाव हुन सक्छ।

‘लगानीकर्ताका लागि कतिपय अवस्थामा अवसरको खाँचो हुन्छ। अर्कोतर्फ, नयाँ उद्यमीसँग विचार र सम्भावना भए पनि लगानीसम्म पुग्ने बाटो थाहा हुँदैन। यस्तो अभाव र अन्योलको अवस्थामा यस्ता कार्यक्रमले उद्यमी, बैंक तथा वित्तीय संस्था र लगानीकर्ताबीच पुलको काम गर्न सक्छन्,’ उनले भने।

समिटमा उठेका विषयहरूले नेपालमा उद्यमशीलताको विकासका लागि केवल कर्जा र अनुदान उपलब्ध गराएर मात्र नपुग्ने स्पष्ट पारेका छन्। व्यवसायको सम्भावना पहिचान, व्यावसायिक योजना निर्माण, बजारको सुनिश्चितता, प्रविधिको प्रयोग, लगानीको पहुँच, सरकारी नीतिगत सहजीकरण र उत्पादनको बजारीकरणलाई एकैसाथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

विशेषगरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन र जनशक्तिको उपयोग गर्दै स्थानीय आवश्यकतामा आधारित व्यवसाय सञ्चालन गर्न सके गाउँदेखि सहरसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। त्यसका लागि काठमाडौंमा केन्द्रित अवसरलाई प्रदेश र स्थानीय तहसम्म पुर्‍याउनु, विद्यालय तहदेखि नै उद्यमशीलताको शिक्षा दिनु र युवालाई आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिलाउनु महत्वपूर्ण हुने कार्यक्रमको निष्कर्ष थियो।

स्टार्टअप समिट नेपाल–२०२६ ले सातवटै प्रदेशका सम्भावना पहिचान गरी स्थानीयस्तरमै उद्यमशीलताको वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ। यसको सफलता केवल कति कार्यक्रम आयोजना भए वा कति युवा सहभागी भए भन्ने आधारमा होइन, कति नयाँ उद्यम सुरु भए, कति रोजगारी सिर्जना भए, कति स्थानीय उत्पादनले बजार पाए र कति युवाले विदेशको सट्टा आफ्नै देशमा भविष्य देख्न थाले भन्ने आधारमा मापन हुनेछ।
कार्यक्रममा स्टार्टअप ऋण लिएर ब्यबसाय शुरु गरेका करिब २० जना ब्यबसायीहरुको ब्यबसायिक स्टल तथा सामानहरुको प्रदर्सनी गरिएको थियो कार्यक्रममा झन्डै ४ सय हाराहारी व्यक्तिहरुको उपस्थिति रहेको थियो । जसमा बिध्यार्थीहरुको बाहुल्यता बढी रहेको थियो । नीति रिसर्च प्रालिको आयोजनामा पाकिस्तान एम्बेसीको सहकार्यमा तथा नबिल बैक लिमिटेड ,माछापुच्छ्रे बैक लिमिटेड र पोखरा महानगरको सहयोगमा आयोजना गरिएको थियो ।

युवालाई नेपालमै रोक्ने अभियान नारामा मात्र सीमित हुनु हुँदैन। उनीहरूका सपना पूरा गर्न सक्ने अवसर, लगानी, बजार, प्रविधि र विश्वासको वातावरण देशभित्रै निर्माण गर्न सक्नुपर्छ। युवाले विदेशमा खोजिरहेको अवसर आफ्नै गाउँ, सहर र प्रदेशमा सिर्जना गर्न सकियो भने मात्र आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपालको सपना साकार हुन सक्छ। यही सोचलाई व्यवहारमा उतार्ने उद्देश्यसहित पोखराबाट सुरु भएको स्टार्टअप नेपाल समिटको अभियानले अब सातवटै प्रदेशका सम्भावना र उद्यमशीलताको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।