काठमाडौं । गत फाल्गुनको निर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेकी मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी अन्सारीको यो राजनीतिक यात्रा अब औपचारिक रूपमा नयाँ मोडमा पुगेको छ। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक जीवनको औपचारिक सुरुवात भएको जानकारी दिएकी हुन्।
अन्सारीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, समावेशी सोच र युवामैत्री राजनीतिक दृष्टिकोणले आफूलाई आकर्षित गरेको उल्लेख गर्दै देशको राजनीतिक, सामाजिक तथा मानवअधिकारको क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले कांग्रेस रोजेको बताएकी छन्।
राष्ट्रिय मानवअधिकार आयोगको पूर्वपदाधिकारीका रूपमा समेत भूमिका निर्वाह गरिसकेकी अन्सारीको कांग्रेस प्रवेशलाई पार्टीभित्र समावेशिता, मानवअधिकार र सामाजिक न्यायको मुद्दालाई थप बलियो बनाउने कदमका रूपमा हेरिएको छ। विशेषगरी महिला, अल्पसंख्यक र सीमान्तकृत समुदायका आवाजलाई संस्थागत रूपमा उठाउन उनको अनुभव उपयोगी हुने विश्वास कांग्रेस वृत्तमा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अन्सारीको कांग्रेस प्रवेशले पार्टीलाई बौद्धिक, सामाजिक र वैचारिक रूपमा थप मजबुत बनाउन सहयोग पुग्नेछ।