काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि विस्तृत छलफल सुरु हुनेछ।
बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ। सरकारको प्राथमिकता, विकास योजना, आर्थिक सुधार, सामाजिक क्षेत्र तथा सुशासनसँग सम्बन्धित विषयमा सांसदहरूले पक्ष–विपक्षमा आफ्नो मत प्रस्तुत गर्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममार्फत सरकारले आगामी वर्षका मुख्य योजना, आर्थिक रणनीति र विकासका प्राथमिकता सार्वजनिक गरेको हो।
चालु अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ, किनकि यही अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट पनि प्रस्तुत गरिनेछ। सरकारले ल्याउने बजेट, नीति तथा कार्यक्रम र संसदमा हुने छलफललाई आगामी आर्थिक दिशा तय गर्ने आधारका रूपमा हेरिएको छ।
