सुकुम्वासी उठीवासको विरोधमा भोली चक्काजाम

सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।

संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी गुठी तथा बिर्तापीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको छ।

संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्वासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाए।

उनले सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उनले यसको निन्दा गरे। सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

संघले दोस्रो चरणका आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेको छ। यसअघि वैशाख ११ गते आन्दोलनका कार्यक्रम सहित मैदानमा उत्रिएको थियो।

संघले भोली वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने भएको छ। यो अवधिमा सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि संघले अपिल समेत दर्शाएको छ ।