दशैं मनाउन काठमाडौं उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए-ट्राफिक प्रहरी

दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखनजिक पुगेको छ।

घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातका साधनमार्फत चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको हो।

यद्यपि, पछिल्ला दिनको तुलनामा आज बाहिरिने यात्रुको संख्यामा केही कमी आएको उनले जानकारी दिए।

उपत्यकाबाट बाहिरिने यात्रुको चाप नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा देखिएको छ।

दशैं मनाउन आ–आफ्नो घर फर्किने यात्रुका कारण यी क्षेत्रमा सार्वजनिक यातायातका साधनको आवागमन बढेको छ।

दशैं मनाउन घर जाने सर्वसाधारणले मुख्य रूपमा फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका प्रयोग गरेका छन्।

दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य रूपमा बढेको छ।

चाडपर्वका वेला यात्रुको सहज आवागमन व्यवस्थापन गर्न ट्राफिक प्रहरीले उपत्यकाका प्रमुख बसपार्क तथा बाहिरिने नाकामा निगरानी गरिरहेको छ।