बेलायत- किराती एकताको उदाहरण प्रस्तुत गदै उभौली साकेला स्यांदर उत्सव मनाइएको छ । किरात राई तथा सुनुवार समाज क्याट्रिक योर्कशायरको आयोजनामा यलम्बर सम्बत ५०८६ अवसरमा उभौली साकेला, साकेन्वा, स्याँदर प्रर्दशन गरेर उत्सव मनाइएको हो । उत्सव मनाउनका लागि नेपाली समूदायको बाहुल्यता रहेको उत्तरी बेलायतको कार्लाइल, लिड्स, न्युक्यासल, हडर्सफिल्ड तथा डार्लिङ्ग्टनबाट किराती समुदाय, नेपाली समुदाय, सेवारत सैनिक परिवार सहित त्यहांका अन्य समूदायले सहभागीता जनाएका थिए ।
‘विदेशमा रहेर पनि किराती सभ्यता, संस्कार तथा पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलिरहेको छ’ किरात राई तथा सुनुवार समाजका अध्यक्ष नन्दराज राईले भने ‘उभौली, स्याँदर र साकेला केवल चाडपर्व मात्र होइनन्, यी हाम्रो अस्तित्व, एकता, प्रकृतिप्रतिको सम्मान तथा पुर्खाहरूको स्मरणसँग जोडिएका अमूल्य सांस्कृतिक धरोहर हुन् ।’ यस्ता कार्यक्रमहरूले विदेशमा जन्मँदै र हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, भेषभूषा, गरगहना तथा पहिचानसँग जोड्ने महत्वपूर्ण कार्य हुने उनले दाबी गरे ।
क्याटरिक ग्यारिसनको ले केटो कमिन्यूटी प्राइमरी स्कुलमा भएको उत्त उत्सवमा १५० जनाले किरात राई तथा सुनुवार समुदायको भाषा, धर्म, संस्कृति, भेषभूषा, परम्परा, मौलिक पहिचान तथा सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेका थिए । अग्रज पुजारी गजुरमान र संस्थाका अध्यक्ष नन्दराज राईले साकेला थानमा स्थापित पारुहाङ–सुम्निमा तथा यलम्बरका तस्बिरहरू अगाडि पितृहरूको स्मरण गर्दै तीन चुला मानी तीन वटा पानस दीप प्रज्वलन गरी उत्सवको समुद्घाटन गरेका थिए ।
अनिला राईको नेतृत्वमा सिलिमोमा–सिलिमोपा तथा ढोलेहरूले कार्यक्रमभरी नृत्य र सांस्कृतिक प्रस्तुतिमार्फत सम्पूर्ण सहभागीहरूलाई किरात संस्कृतिको मौलिक अनुभव गराएका थिए । त्यस्तै सुनुवार कोइञ्च किरात संस्कृतिको मौलिक स्याँदर सिलको पनि भव्य प्रस्तुति गरिएको थियो, जस मार्फत उपस्थित जनसमुदायलाई सहभागी गराई यसको विशेष सांस्कृतिक अनुभूति दिलाइएको थियो ।
राम कृष्ण सुनुवारका अनुसार उत्सवमा साकेला सिली, स्याँदर नृत्य, विविध सांस्कृतिक प्रस्तुति, सामूहिक भेटघाट तथा परम्परागत किराती परिकार मुख्य आकर्षणका रूपमा रहेका थिए । विशेषगरी ताजा सुँगुरको भुटुवा, सेलरोटी, अचार, चट्नी तथा घरमै बनाइएका विभिन्न मौलिक परिकार र पेय पदार्थले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई नेपाली तथा किराती स्वादको विशेष अनुभूति गराएको थियो ।
बहुभाषिक तथा बहुजातीय नेपाली समाजको विविधता र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याइरहेका र नेपाल र नेपालीपनसँग भावनात्मक सम्बन्ध कायम राख्दै भविष्यका पुस्तासम्म संस्कृति हस्तान्तरण गर्नु सम्पूर्ण समुदायको साझा दायित्व भएको आयोजकहरूको भनाइ रहेको छ ।
कार्यक्रमको समापनमा सुम्निमा–पारुहाङ, पुर्खा तथा प्रकृतिको आशीर्वादले सम्पूर्ण मानव समुदायमा शान्ति, सुख, समृद्धि, स्वास्थ्य तथा एकता कायम रहोस् भन्ने कामना गरिएको थियो ।