सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो जलेर नष्ट

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा आज (शनिबार) अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–५ निवासी ४० वर्षीय मुकुन्द जोशीको बा.प्र.०१–०२७ च ००७४ नम्बरको स्कार्पियो पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

प्रहरीका अनुसार बिरामीका लागि गाडीमा जडान गरिएको अक्सिजन सिलिन्डर अचानक पड्किँदा आगलागी भएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।