काठमाडौँ। पूर्खाको विरासत, कालिगढको अमूल्य पसिना र नेपाली माटोको सुगन्ध बोकेको हस्तकला क्षेत्र केवल व्यवसाय मात्र होइन, यो हाम्रो जीवन्त पहिचान पनि हो। यही मौलिक पहिचान र नेपाली श्रमको गौरवलाई उत्सवको रूपमा मनाउन नेपाल हस्तकला महासंघको आयोजनामा आगामी जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्येटमा ‘नेपाल हस्तकला एक्स्पो एण्ड कल्चरल शो– २०२६’ आयोजना हुने भएको छ।
मुलुकको आर्थिक समृद्धिको बलियो आधार मानिएको यस हस्तकला क्षेत्रले देशका लाखौँ दिदीबहिनी तथा दाजुभाइलाई स्वरोजगारको अवसर दिएर तिनीहरूको चुल्हो मात्र बालेको छैन, बरु भारत, चीन लगायत तेस्रो विश्वका देशहरूमा वार्षिक २८ अर्ब रुपैयाँ बराबरको नेपाली पहिचान निर्यात गरेर विश्व बजारमा नेपालको शिर समेत उच्च पारेको छ। यही गौरवमय पृष्ठभूमिमा यो मेला आयोजना गर्न लागिएको मेला आयोजक समिति संयोजक तथा महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले भावुक हुँदै जानकारी दिइन्।
कृषि जस्तै देशैभरि विस्तार गर्न सकिने असीमित सम्भावना बोकेको यो क्षेत्रले नेपालको कला, संस्कृति र सम्पदाको एउटा बलियो र जीवन्त दूतका रूपमा काम गर्दै आएको छ। बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस तीन दिने मेलाको मुख्य ध्येय दुरदराजका गाउँ, कुना-कन्दराका विभिन्न प्रदेश तथा जिल्लामा लुकेर रहेका हस्तकलाका अमूल्य सिर्जनाहरूलाई उजागर गर्नु हो। मेलाले स्थानीय उद्यमी र कालिगढहरूको अथक मिहिनेतलाई आधुनिक बजारको पहुँचसम्म पुर्याएर उनीहरूको जीवनस्तर सुधार्न र हस्तकलाको व्यावसायिक विकासमा दरिलो टेवा पुर्याउने विश्वास महासंघका अध्यक्ष रविन्द्र शाक्यले व्यक्त गरे।
यो मेला केवल वस्तुहरूको प्रदर्शनी मात्र होइन, यो त गाउँ-गाउँका हस्तकला उद्यमी र जिल्ला संघहरूको सबलीकरणका लागि एउटा सामूहिक ऐक्यबद्धता हो। हस्तकला उद्योग व्यवसायको माध्यमबाट आयआर्जन र रोजगारीको अवसर सृजना गर्दै, हाम्रा रैथाने सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्य मेलाले बोकेको छ। स्थानीय उत्पादन र परम्परागत परिकारको व्यावसायिक विकाससँगै लोपोन्मुख कला र संस्कृतिको जगेर्ना गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा यो मेला एउटा कोशेढुङ्गा साबित हुने लक्ष्य राखिएको छ।
मेलाको मुख्य आकर्षणका रूपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम मात्र रहने छैन, बरु नेपाली माटोको सुगन्ध झल्काउने विविध सांस्कृतिक कार्यक्रम, र कालिगढहरूले आफ्ना जादुमयी औंलाहरूबाट प्रत्यक्ष सीप प्रदर्शन गर्ने प्रत्यक्ष कला प्रस्तुति समेत रहनेछ। साथै, जिब्रोमै झुन्डिने परम्परागत रैथाने परिकारहरूको विशेष फुड स्टलहरूले मेलामा छुट्टै रौनक थप्नेछन्। यस अनुपम उत्सवमा काठमाडौँ उपत्यका मात्र नभई संखुवासभाको अल्लोदेखि बाजुरा, ताप्लेजुङ, मकवानपुर, दाङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, र बागलुङ जस्ता देशका कुना-काप्चाबाट स्थानीय उद्यमीहरू आफ्ना मौलिक सिर्जना बोकेर आउनेछन्।
यो मेलाले उत्पादक र उपभोक्ता बीच एउटा भावनात्मक सम्बन्धको पुल निर्माण गर्नेछ। जब एउटा नागरिकले नेपाली उत्पादन किन्छ, तब देशको एउटा कुनामा बसेको नेपाली कलाकारको सीप, क्षमता र मनोबल मात्र बढ्दैन, बरु हाम्रा मूर्त तथा अमूर्त कला-संस्कृति र परम्परागत धरोहरको रक्षा समेत हुन्छ। महासंघले यस मेलालाई नेपालीपनको एउटा ठूलो महाकुम्भका रूपमा लिएको छ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ को पवित्र अवधारणामा आधारित यस मेलामा नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूको करिब ७० वटा व्यापारिक स्टलहरू रहनेछन्। मेलाको व्यापकताका लागि आधुनिक प्रविधि र सञ्चार माध्यमहरूको प्रयोग गरिएको छ। नेपाली कला र सीपलाई माया गर्ने हरेक नागरिक सजिलै सहभागी हुन सकून् र आफ्ना रैथाने कालिगढलाई हौसला दिन सकून् भन्ने हेतुले मेलामा आउने सम्पूर्ण सर्वसाधारणका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ।
यस पवित्र अभियानलाई सफल बनाउन प्रमोटिङ पार्टनरका रूपमा हेल्भेटास नेपाल, लजिस्टिक पार्टनर एभरेष्ट डि कार्गो, ट्राभल पार्टनर लक्की ट्राभल , प्रिन्टिङ पार्टनर विजय अफसेट र इन्स्योरेन्स पार्टनरका रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहेको छ । त्यसैगरी मिडिया पार्टनरका रूपमा आर्थिक अभियान राष्ट्रिय दैनिक तथा सहयोगी संस्थाहरूमा नेपाल टेलिकम र एनएमबि बैंक जस्ता प्रतिष्ठित संस्थाहरू छन्।